काठमाडौँ — दसैँ, तिहार र छठ पर्वका बेला बजारमा कृत्रिम अभाव, कालोबजारी तथा मूल्यवृद्धि हुन नदिन बजार अनुगमन तीव्र पारिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
विभागका अनुसार बजारमा वस्तुको मूल्य, गुणस्तर, मौज्दात र आपूर्तिको अवस्था जाँच गर्न नियमित टोलीसँगै काठमाडौँ उपत्यकामा थप ५० जना कर्मचारी परिचालन गरिएको छ।
विभागका महानिर्देशक रितेशकुमार शाक्यले चाडपर्वका बेला उपभोग्य वस्तुको सहज आपूर्ति र व्यवस्थापनमा विशेष ध्यान दिइएको बताउनुभएको छ।
बजार अनुगमनमा वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रदेशका सम्बन्धित निकाय परिचालन भएका छन्।
चिनीको मौज्दातबारे साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग जानकारी लिइएको छ। मासुजन्य वस्तुको मूल्य बढेको गुनासोपछि सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन भइरहेको विभागले जनाएको छ।
विभागले बजारमा ठगी, कृत्रिम अभाव वा अन्य समस्या देखिएमा सम्बन्धित निकाय, विभागको हटलाइन वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’मार्फत उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ।
उजुरीका आधारमा तत्काल अनुगमन गरी आवश्यक कारबाही गरिने विभागको भनाइ छ।










Discussion about this post