विराटनगर । खेलकुद विकासका साझा एजेन्डा तय गर्ने र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव सुनसरीको चतरामा भेला हुने भएका छन्।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा शनिबार बराहक्षेत्रस्थित चतरामा अन्तरप्रदेश सदस्यसचिव सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलनमा सहभागी हुन सातै प्रदेशका सदस्यसचिव शुक्रबार विराटनगर आइपुग्ने कार्यक्रम छ।
सम्मेलनअघि कोशी र मधेस प्रदेशबीच खेलकुदको विकास तथा प्रवर्द्धनका लागि द्विपक्षीय समझदारी गर्ने तयारी गरिएको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले जानकारी दिए। अन्य प्रदेशसँग पनि सहकार्य विस्तार गर्ने आधार तयार पार्नु सम्मेलनको मुख्य उद्देश्य रहेको उनले बताए।
सम्मेलनमा प्रदेशहरूले खेलकुद क्षेत्रमा हासिल गरेका उपलब्धि, विद्यमान चुनौती, खेलाडीको क्षमता अभिवृद्धि, प्रशिक्षण तथा प्रतियोगिताका अवसर आदानप्रदान र आगामी मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे छलफल हुनेछ।
प्रदेशहरूबीच खेलाडी, प्रशिक्षक तथा प्राविधिक जनशक्तिको अनुभव आदानप्रदान गर्दै नियमित प्रशिक्षण, मैत्रीपूर्ण खेल र अन्तरप्रदेश प्रतियोगिता सञ्चालन गर्ने विषयलाई प्राथमिकता दिइनेछ। कुनै प्रदेशमा राम्रो प्रदर्शन भइरहेका खेल विधामा अन्य प्रदेशका खेलाडीलाई प्रशिक्षण तथा प्रतियोगिताको अवसर दिने र कमजोर खेल विधाको स्तर सुधार गर्न आपसी सहकार्य गर्ने योजना अघि सारिएको छ।

सदस्यसचिव घोषका अनुसार ‘होम एन्ड अवे सिरिज’ अवधारणामा आधारित सहकार्यले खेलाडीलाई फरक वातावरणमा प्रशिक्षण तथा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ। यसबाट खेलाडीको अनुभव, क्षमता र प्रतिस्पर्धात्मक स्तर अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
सम्मेलनको अर्को प्रमुख एजेन्डा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी रहेको छ। कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने प्रतियोगितामा ३२ खेल समावेश छन्। प्रतियोगितामा प्रदेशको प्रदर्शन सुधार गर्न खेलाडीको तयारी, नियमित प्रशिक्षण र प्राविधिक अनुभव आदानप्रदानका विषयमा छलफल गरिनेछ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले मधेस प्रदेशसँगको समझदारीपछि अन्य प्रदेशसँग पनि सहकार्य विस्तार गर्ने तयारी गरेको छ। सम्मेलनले खेलकुद विकासका लागि साझा कार्यदिशा तय गर्नुका साथै प्रदेशहरूबीचको मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा कोशीका विप्लव घोष, मधेसका शिवजीप्रसाद कानु, बागमतीका दीपक लामा, गण्डकीका श्रीधर शर्मा, लुम्बिनीका तिरनअन्दाज गौतम, कर्णालीका रवीन्द्र चन्द र सुदूरपश्चिमका लोकबहादुर खड्कासहित खेल क्षेत्रका अगुवा, प्राविधिक तथा खेलाडीको सहभागिता रहनेछ।
चतरामा सम्मेलन आयोजना गर्दा खेलकुद विकाससँगै धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने आयोजकको अपेक्षा छ।










Discussion about this post