झापा। नेपालमै पहिलोपटक झापाको भद्रपुरमा अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिता आयोजना हुने भएको छ। भद्रपुर नगर हक्की संघको आयोजनामा आगामी कात्तिक १३ देखि १५ गतेसम्म भद्रपुर नगरपालिका–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोजकुमार बस्नेतका अनुसार प्रतियोगितामा नेपालका ८, भारतका ३ र बंगलादेशको १ गरी १२ टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक रहेको प्रतियोगिताको प्रथम पुरस्कार ओम साई पाथीभरा हस्पिटल, भद्रपुरका अध्यक्ष दीपक पोखरेलले तथा दोस्रो पुरस्कार समाजसेवी एवं भद्रपुर–९ निवासी राजकुमार राईले प्रायोजन गरेका छन्।
विद्यालयको प्राङ्गणमा लामो समयदेखि सञ्चालन हुँदै आएको हक्की खेललाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष बस्नेतले बताए। प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै हक्की खेलको विकास र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। स्थानीय तह, उद्योग, कलकारखाना, सामाजिक संघसंस्था तथा खेलप्रेमीबाट स्वैच्छिक सहयोग जुटिरहेको संघका सल्लाहकार अनिल ढुङ्गानाले जानकारी दिए। उनका अनुसार प्रतियोगिता व्यवस्थापन, सदस्य विस्तार तथा अन्य आवश्यक कामका लागि १० वटा उपसमितिसहित मूल आयोजक र सल्लाहकार समिति गठन गरिएको छ।
‘प्रतियोगिताले भद्रपुरलाई हक्की खेलको पहिचानयुक्त क्षेत्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा छ,’ ढुङ्गानाले भने।
भद्रपुर नगर हक्की संघ र श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयबीच भएको सम्झौताअनुसार विद्यालयको खेलमैदान स्तरोन्नति गरी व्यवस्थित र बहुउपयोगी बनाउने कामसमेत भइरहेको छ। मैदान निर्माण तथा स्तरोन्नतिका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले मेची रंगशालामा हुने फुटबल, मेची क्याम्पसमा आयोजना हुने क्रिकेट तथा भद्रपुरमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताले नगरलाई खेलकुदको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याउने बताए। यस्ता प्रतियोगिताले पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि बढाउनसमेत योगदान दिने उनको भनाइ छ।
नेपाल हक्की संघकी महासचिव सुवर्णा श्रेष्ठले नेपालमा यसअघि अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिता आयोजना नभएको बताइन्। भद्रपुरमा हुन लागेको प्रतियोगिताले नेपाली हक्कीको विकास र विस्तारसँगै अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरिन्।










Discussion about this post