काठमाडौं । रोहितकुमार पौडेलको कीर्तिमानी शतकसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई २४ रनले पराजित गरेको छ ।
ओमानको अल अमिरातमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमै समेटिएपछि नेपालले महत्वपूर्ण जित निकालेको हो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले १२५ बलमा आठ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाए । योसँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।
नेपालले सुरुवाती तीन विकेट छिट्टै गुमाएपछि रोहितले बसिर अहमदसँग चौथो विकेटका लागि ७७ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले । बसिरले ३० रन बनाए भने गुल्सन झाले ३४ बलमा चार चौका र तीन छक्कासहित ४८ रनको योगदान दिए ।
क्यानडाका लागि अखिल कुमारले चार, सुखजिन्दर सिंहले तीन र जाहिद श्रीजादले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा क्यानडाका आरोन जोहनसनले ४४, समित गोहेलले ३५ तथा अखिल कुमारले अविजित ३० रन बनाए । नेपालका सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र नन्दन यादवले समान दुई–दुई विकेट लिए ।
यस जितसँगै नेपालले लिग–२ मा ३३ खेलबाट १२ जितसहित २६ अङ्क जोडेको छ । नेपाल अङ्कतालिकाको छैटौँ स्थानमा उक्लिँदा २५ अङ्क रहेको क्यानडा सातौँ स्थानमा झरेको छ ।










Discussion about this post