काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन गर्ने विषयमा सहमति जुट्न सकेको छैन। विभिन्न पदमा मनोनयनका लागि सम्भावित नामबारे छलफल भए पनि निष्कर्षमा पुग्न नसकेपछि बैठक शनिबार पुनः बस्ने भएको छ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटीमा रिक्त रहेका स्थान, पोलिटब्युरो सदस्यको मनोनयन तथा स्थायी कमिटीमा खाली रहेका पदपूर्तिका विषयमा छलफल भएको हो।
बैठकपछि एमाले सचिव पद्मा अर्यालले रिक्त पदमा मनोनयनका विषयमा स्थायी कमिटी सदस्यहरूले आ–आफ्ना सुझाव प्रस्तुत गरेको जानकारी दिइन्। विभिन्न नाममा छलफल भए पनि सहमति जुट्न नसकेको उनले बताइन्।
बैठकमा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले ११ वर्षपछि आफू पुनः सक्रिय पार्टी जीवनमा फर्किएको विषयमा धारणा राखेकी थिइन्। सचिव अर्यालका अनुसार भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानमाथि देखिएका चुनौतीको रक्षा गर्नु लोकतन्त्र स्थापनाका लागि योगदान दिएका राजनीतिक दलहरूको मुख्य दायित्व भएको बताएकी थिइन्।

भण्डारीले विगतका आन्दोलनमा आफू स्वयं सहभागी भएको स्मरण गर्दै लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन तथा पार्टीमा आबद्ध भएर योगदान पुर्याउने उद्देश्यसहित सक्रिय पार्टी जीवनमा फर्किएको धारणा राखेको अर्यालले जानकारी दिइन्।
रिक्त पदमा मनोनयनको विषय टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक शनिबार पनि बस्नेछ।










Discussion about this post