काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियानको कार्यविधि पारित गर्दै महाधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा आगामी स्थानीय र प्रदेश निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो।
नेकपा नेता प्रकाश ज्वालाका अनुसार अभियानको उद्घाटन कात्तिक ७ गते हुनेछ। अभियानका क्रममा विभिन्न भेला आयोजना गरी पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड दिइनेछ। साथै, सरकारका कामकारबाहीमाथि खबरदारी गर्नुका साथै आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीसमेत अघि बढाइने उनले बताए।
बैठकले पार्टीका संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउन वडा र पालिका अधिवेशनको मितिसमेत तय गरेको छ। निर्णयअनुसार पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन हुनेछ। स्थानीय निर्वाचनपछि जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्ने योजना रहेको नेता ज्वालाले जानकारी दिए।

पार्टीमा युवाको सहभागिता बढाउने विषयलाई पनि बैठकले प्राथमिकता दिएको छ। पार्टीका विभिन्न संरचनामा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्याउने तथा प्रवासमा रहेका नेपालीका मुद्दालाई प्राथमिकतामा राख्ने विषयमा छलफल भएको उनले बताए।
यसैगरी, ग्रेजोनको प्रतिवेदनबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत नेकपाले गरेको छ। राष्ट्रिय जागरण अभियानमार्फत संगठन विस्तार, राजनीतिक गतिविधि र निर्वाचनकेन्द्रित तयारीलाई तीव्रता दिने पार्टीको योजना रहेको छ।










Discussion about this post