काठमाण्डौ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
प्रतियोगिता सुरु हुन करिब तीन हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ। क्यानका सचिव पारस खड्काका अनुसार दशैँसम्म मैदानको सम्पूर्ण तयारी पूरा गर्ने लक्ष्य राखिएको छ।

यसपटक अघिल्ला संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै दर्शक क्षमता बढाउने, प्रवेशद्वार तथा आवतजावत व्यवस्थित गर्ने र शौचालय तथा धुलोको समस्या समाधान गर्ने तयारी भइरहेको छ।
दशैँ–तिहारजस्ता मुख्य चाडपर्वको समयमा प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो समर्थक आधारका कारण दर्शकको उत्साहमा कमी नआउने क्यानको विश्वास छ। विदेशी चर्चित खेलाडीको सहभागिताले एनपीएलप्रतिको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाण्डौमा आयोजना हुँदैछ।










Discussion about this post