काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि परेको उम्मेदवारीको प्रथम नामावली सार्वजनिक गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरेको हो।
कांग्रेसमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २५ पदाधिकारीको व्यवस्था छ। त्यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने भएकाले १९ पदाधिकारी निर्वाचित हुनेछन्।

निर्वाचन समितिका अनुसार १९ पदका लागि ७९ जनाले उम्मेदवारी दिएका छन्। सभापति पदमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र पूर्वक्षेत्रीय सभापति श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापतिका विभिन्न समूहगत तथा समावेशी पदमा पनि उम्मेदवारी परेको छ। यस्तै, खुला तथा महिला महामन्त्रीका लागि समेत उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।

सहमहामन्त्रीका विभिन्न समावेशी समूहमा पनि उल्लेख्य उम्मेदवारी परेको छ। आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक वा अपाङ्गता समूहबाट उम्मेदवारी परेको छ।
केन्द्रीय सदस्य पदमा समेत ठूलो सङ्ख्यामा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। प्रथम नामावलीमा दाबीविरोध भए आज बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दाबीविरोध दर्ता गर्ने समय तोकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ।











Discussion about this post