काठमाडौं — भोटेकोशी क्षेत्रमा आएको बाढीबाट उद्योग तथा सेवा क्षेत्रमा परेको असरका कारण नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।
विश्व बैंकले सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार बाढीबाट जलविद्युत्, विद्युत् प्रसारण, यातायात तथा अन्य पूर्वाधारमा भएको क्षतिले आर्थिक गतिविधिमा प्रत्यक्ष असर पार्नेछ। उद्योग क्षेत्र आर्थिक वृद्धिको प्रमुख बाधक बन्ने प्रतिवेदनमा उल्लेख छ।

बाढीका कारण व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा अवरोध हुँदा सेवा क्षेत्रसमेत प्रभावित हुने विश्व बैंकको आकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित परिवारको रोजगारी र जनजीविकामा उल्लेखनीय असर पर्न सक्ने जनाइएको छ।
विश्व बैंकका अनुसार पुनर्निर्माण र पुनर्स्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउनेछ। त्यसका कारण आगामी आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
विश्व बैंकले बाढीपछि पुनर्निर्माण गर्दा क्षतिग्रस्त संरचना पुरानै अवस्थामा फर्काउने मात्र नभई बहुविपद् जोखिमको पुनर्मूल्यांकन गर्न सुझाव दिएको छ। सडक, ऊर्जा, सञ्चार, खानेपानी, स्वास्थ्य तथा शिक्षाजस्ता पूर्वाधारलाई जलवायु परिवर्तन र बढ्दो विपद् जोखिमअनुकूल बनाउनुपर्नेमा जोड दिइएको छ।
यसैबीच, विश्व बैंकले चालु वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। सन् २०२७ मा भने दक्षिण एसियाको आर्थिक वृद्धि ६.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।
विश्व बैंकको प्रतिवेदनले दक्षिण एसियामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढाएर उत्पादकत्व, रोजगारी, निर्यात र सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन सकिने सम्भावना औँल्याएको छ। एआईको प्रभावकारी प्रयोगका लागि सीप विकास, डिजिटल पूर्वाधार, व्यवसायमैत्री वातावरण तथा स्पष्ट नियामक संरचनामा सुधार गर्नुपर्ने सुझाव पनि दिइएको छ।










Discussion about this post