काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवाका बाढी प्रभावित नागरिकलाई दसैंअघि नै सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने गरी काम भइरहेको बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले बाढी प्रभावितलाई सकेसम्म दसैंअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गरी चाडपर्वको वातावरण बनाउन सरकारको लक्ष्य रहेको बताए।
उनका अनुसार प्रभावित नागरिकलाई पुनर्स्थापना गर्न स्थानीय तहसँग समन्वय गरी उपयुक्त जग्गा पहिचान गर्ने काम भइरहेको छ। स्थानीय तह, विपद् व्यवस्थापन प्राधिकरण तथा सरकारमार्फत उपलब्ध गराइने राहत र क्षतिपूर्तिको समीक्षा गरी समयमै उपलब्ध गराउने तयारी भइरहेको उनले जानकारी दिए।
मन्त्री लम्सालले बेली ब्रिजहरू स्टकमा उपलब्ध भए पनि त्रिशूली नदीमा तत्काल जडान गर्न कम्तीमा १०० देखि १२२ मिटरसम्म लामो बेली ब्रिज आवश्यक रहेको बताए। उक्त लम्बाइको बेली ब्रिज तत्काल उपलब्ध नभएकाले समस्या भएको उनको भनाइ छ।
विश्वभरका बेली ब्रिज उत्पादक कम्पनीसँग समन्वय गर्दा पनि हवाई मार्गबाट तत्काल ल्याउन सकिने अवस्थामा आवश्यक लम्बाइको ब्रिज स्टकमा नभेटिएको उनले बताए। त्यसपछि आवश्यक ब्रिजका लागि अर्डर दिइएको जानकारी उनले दिए।
लम्सालले बाढीबाट क्षतिग्रस्त पुरानै स्थानमा राजमार्ग निर्माण नगर्ने स्पष्ट पार्दै नयाँ र सुरक्षित अलाइनमेन्टअनुसार फरक डिजाइनमा सडक निर्माण अघि बढाइने बताए।
बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले रसुवामा बाढीका कारण करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए।
उनका अनुसार क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलमध्ये १२ वटाको मर्मत सम्पन्न भइसकेको छ भने बाँकी ८ वटा मर्मतको प्रक्रियामा छन्। त्यस्तै, नुवाकोटको ढुंगे–बेत्रावती सडकखण्ड खुला गरी यातायात सञ्चालनमा ल्याइएको उनले बताए।
नुवाकोट र रसुवालाई जोड्न बेत्रावतीमा बेली ब्रिज राख्ने काम भइरहेको र आगामी सोमबारसम्म सञ्चालनमा ल्याएर धुन्चेसम्मको सडक पहुँच जोड्ने लक्ष्य रहेको सचिव मैनालीले जानकारी दिए।
यस्तै, रसुवागढी सडकका विभिन्न स्थानमा चारदेखि पाँचवटा बेली ब्रिज निर्माण गर्नुपर्ने भएकाले दसैंअघि नै उक्त सडकखण्ड पूर्णरूपमा जोड्न सम्भव नहुने उनले बताए।
बेत्रावती–मेलुङ–स्याफ्रुबेँसीको पुरानो सडक मार्गलाई छाडेर वैकल्पिक मार्गमार्फत सडक कनेक्टिभिटी अघि बढाउने काम भइरहेको पनि उनले जानकारी दिए।










Discussion about this post