काठमाडौं । सरकारले देशभर स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा अर्थात् लालपुर्जा वितरण गरेको जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत अहिलेसम्म ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरणको काम सम्पन्न भएको जानकारी दिनुभएको हो। सरकारले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ।
भूमि समस्या समाधान समितिमार्फत देशभरका तथ्यांक एकीकृत रूपमा संकलन तथा प्रशोधन भइरहेको छ। हालसम्म प्रणालीमा १३ लाख ११ हजार १९७ वटा निवेदन प्रविष्ट भएका छन्। ती निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम भइरहेको सरकारले जनाएको छ।
सार्वजनिक महत्वका क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका भूमिहीनलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ। काठमाडौं उपत्यकाबाट विस्थापित परिवारलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा भूमि व्यवस्थापन गर्ने तयारी गरिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।
भूमिहीन भएको झुटो विवरण पेश गर्नेहरूको अभिलेख परीक्षण गरी आवश्यक कानुनी कारबाही अघि बढाइएको पनि सरकारले जनाएको छ। भूमि सम्बन्धी ऐन, वन ऐनलगायत कानुनमा आवश्यक सुधार गरी प्रक्रिया थप सहज बनाउने तयारी भइरहेको छ।
सरकारले चुनावअघि गरेको प्रतिबद्धताअनुसार १ हजार दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने लक्ष्य लिएको जनाएको छ। जिल्ला–जिल्लामा समस्या समाधान गर्दै क्रमशः सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने सरकारको कार्यदिशा रहेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ।










Discussion about this post