काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी तथा कार्ड कारोबारका लागि विदेशी मुद्रा सटही र भुक्तानीको सीमा बढाएको छ।
संशोधित व्यवस्थाअनुसार विदेशमा उपचार गराउने नेपाली नागरिकले आवश्यक प्रक्रिया पूरा गरी वार्षिक ३० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन्। यसअघि यस्तो सीमा १५ हजार डलर थियो।
त्यस्तै, नेपाली दूरसञ्चार सेवा प्रदायकले विदेशी कम्पनीबाट स्याटेलाइट सेवा लिँदा वार्षिक ५ लाख डलरसम्म भुक्तानी बैंक तथा वित्तीय संस्थाले नै गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि सीमा १ लाख डलर थियो।
भारतमा सेवा लिएबापत गरिने भुक्तानीको सीमा पनि बढाइएको छ। अब आवश्यक कागजातसहित प्रतिपटक ६० लाख भारतीय रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ। यसअघि यस्तो सीमा ४० लाख भारतीय रुपैयाँ थियो।
विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरी आम्दानी गरेको विदेशी मुद्रा कार्डमा जम्मा गर्न सकिने व्यवस्था पनि गरिएको छ। कार्डमा रहेको मौज्दात १० हजार डलरभन्दा बढी भए अतिरिक्त रकम अनिवार्य रूपमा स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्नेछ। यसअघि यस्तो सीमा ५ हजार डलर थियो।
त्यस्तै, नेपाली वायुसेवा कम्पनीले हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा खरिदका लागि सम्बन्धित निकायको सिफारिससहित ५ लाख डलरसम्म अग्रिम भुक्तानी बैंक तथा वित्तीय संस्थामार्फत गर्न सक्ने भएका छन्। यस प्रयोजनमा विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका यी संशोधनले विदेशी भुक्तानी, उपचार, स्याटेलाइट सेवा, हवाई सेवा तथा अन्तर्राष्ट्रिय कार्ड कारोबारमा थप सहजीकरण हुने अपेक्षा गरिएको छ।










Discussion about this post