काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उद्योगी विनोद चौधरीले पार्टीको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। जारी १५औँ महाधिवेशनमा उनले उपसभापति पदका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
चौधरीले देशले अहिले युवा नेतृत्वको आवश्यकता महसुस गरिरहेको भन्दै कांग्रेसले नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बताएका छन्। आर्थिक समुन्नतिको स्पष्ट दृष्टिकोण भएका नेताहरूलाई नेतृत्वमा पुर्याएर देशको आर्थिक रूपान्तरणमा नयाँ अध्याय सुरु गर्नुपर्ने उनको भनाइ छ।
उनले भनेका छन्, ‘देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ। यस महाधिवेशनबाट नेपाली कांग्रेसले युवाहरूलाई नेतृत्वमा स्थापित गर्नुपर्छ। साथै, आर्थिक समुन्नतिको स्पष्ट भिजन भएका नेताहरूलाई नेतृत्व तहमा पुर्याई आर्थिक रूपान्तरणमा नयाँ अध्याय सुरु गर्नुपर्नेछ।’
चौधरीले युवा नेतृत्व स्थापित गर्ने उद्देश्यसहित विशेष महाधिवेशनदेखि नै आफू पार्टीको गतिविधिमा सक्रिय रूपमा सहभागी हुँदै आएको उल्लेख गरेका छन्।
उनका अनुसार उपसभापतिमा उम्मेदवारी दिनुको उद्देश्य केवल पार्टीको एउटा पद हासिल गर्नु नभई आर्थिक विकासका मुद्दालाई कांग्रेसको राजनीतिक एजेन्डाको केन्द्रमा स्थापित गर्नु हो। साथै, नयाँ पुस्ताका आकांक्षा सम्बोधन गर्दै कांग्रेसलाई आधुनिक, सशक्त र जनमुखी पार्टीका रूपमा अघि बढाउने आफ्नो लक्ष्य रहेको उनले बताएका छन्।
चौधरीले आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा राख्दै युवाका अपेक्षा सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। आर्थिक रूपान्तरणमार्फत देशको विकासको नेतृत्व कांग्रेसले गर्न सक्छ भन्ने विश्वासलाई व्यवहारमै प्रमाणित गर्नुपर्ने उनको भनाइ छ।
उनले अब केवल ‘राजनीतिका लागि राजनीति’ गर्ने शैलीबाट देशमा अपेक्षित परिवर्तन सम्भव नहुने बताएका छन्। त्यसका लागि आर्थिक समुन्नतिका स्पष्ट योजना र कार्यदिशासहित अघि बढ्नुपर्ने उनले बताए।
‘अब राजनीतिका लागि राजनीति गरेर देशमा रूपान्तरण गर्न सकिँदैन। यसका लागि आर्थिक समुन्नतिका स्पष्ट योजनामा काम गर्नु आवश्यक छ। आर्थिक समुन्नतिको जिम्मेवारी सम्हाल्न म तयार छु,’ चौधरीले भनेका छन्।










Discussion about this post