कञ्चनपुर । कञ्चनपुरका निकुञ्ज तथा वन क्षेत्र आसपासका बस्तीमा पछिल्लो समय मानव–हात्ती द्वन्द्व बढ्दै गएको छ । राति बस्ती पस्ने हात्तीको बथानले घर भत्काउनेदेखि पाक्नै लागेको अन्नबालीमा क्षति पुर्याउन थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन् । हात्ती भगाउने क्रममा ज्यानकै जोखिम मोल्नुपर्ने अवस्था छ ।
राति हात्ती बस्ती पस्ने डरले स्थानीयहरू समूह बनाएर पहरा दिन्छन् । हात्ती देखिएपछि टर्च बाल्ने, होहल्ला गर्ने र विभिन्न उपाय अपनाएर भगाउने प्रयास गर्छन् । तर, हात्ती नजिकै पुगेर भगाउने क्रममा स्थानीयकै ज्यान जोखिममा पर्ने गरेको छ ।

वेदकोट नगरपालिका -१ हात्तीथलामा पछिल्लो एक महिनामै हात्तीको बथानले आठ वटा घरमा क्षति पुर्याएको स्थानीयको भनाइ छ । पाक्नै लागेको धानबालीमा पनि ठूलो क्षति पुगेको छ । घर र अन्नबाली जोगाउन स्थानीयहरू रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् ।
स्थानीय पुनम शाहको घरमा राति हात्ती पस्दा सुत्केरी बुहारी र दूधेबालकसमेत घरभित्र थिए । एकैपटक २३ वटासम्म हात्ती बस्तीमा पसेपछि परिवारले ज्यान जोगाउनै मुस्किल परेको उहाँले बताउनुभयो ।
घरमा अपाङ्गता भएका वृद्ध आमासमेत रहेकाले राति हात्ती बस्तीमा पस्दा थप समस्या हुने गरेको स्थानीय भोज नाथले बताउनुभयो । हात्ती भगाउन बाहिर निस्कनुपर्ने र आमाको सुरक्षासमेत गर्नुपर्ने भएकाले जोखिम बढेको उहाँको भनाइ छ । हात्ती आएपछि घरका सबै सदस्य त्रसित हुने र रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
हात्ती भगाउन स्थानीयहरू समूह बनाएर रातभर बस्तीको निगरानी गर्छन् । तर, हात्तीलाई भगाउने क्रममा उनीहरू आफैँ आक्रमणमा पर्ने जोखिम रहेको वेदकोट मध्यवर्ती उपभोक्ता समितिक सचिव पदमराज पाण्डेले बताए। ।
पहिले टर्चको उज्यालो देखाएपछि हात्ती जंगलतिर फर्किने गरे पनि अहिले उज्यालोतर्फ नै आउन थालेपछि समस्या थपिएको वेदकोट नगरपालिका – १ वडाध्यक्ष रमेश भण्डारीले बताए।
मानव–हात्ती द्वन्द्व हात्तीथलामा मात्र सीमित छैन । कृष्णपुर नगरपालिका–१ डोमिल्लामा पनि दिनभर जंगलमा बस्ने हात्ती रात परेपछि बस्ती पस्ने गरेका छन् । खेतमा पाकेको अन्नबाली नष्ट गर्न थालेपछि स्थानीयहरू रातको समयमा थप सतर्क हुनुपर्ने अवस्था रहेको स्थानिय अम्बादत्त जोशीले बताए।
पुनर्वास नगरपालिका–९ र १० का बस्तीमा पनि हात्तीको समस्या लामो समयदेखि देखिँदै आएको छ । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट नेपाल प्रवेश गर्ने हात्ती लालझाडी–मोहना करिडोर हुँदै कञ्चनपुरका चुरे क्षेत्रसम्म पुग्ने गरेका छन् । बस्ती आसपास महिनौँसम्म रहने हात्तीले धान, उखु, केरा लगायतका बालीमा क्षति पुर्याउने गरेको स्थानीयको भनाइ छ ।
हात्तीको आवागमन हुने क्षेत्र र मानव बस्तीबीचको दूरी घट्दै जाँदा द्वन्द्व पनि बढ्दै गएको छ । स्थानीय तह, राष्ट्रिय निकुञ्ज, नेपाली सेना लगायतका निकायले जोखिम न्यूनीकरणका लागि विभिन्न प्रयास गर्दै आए पनि हात्तीको अनिश्चित आवागमनका कारण समस्या पूर्णरूपमा नियन्त्रण हुन सकेको छैन ।
वेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दका अनुसार स्थानीयका लागि रात पर्नु भनेको फेरि पहरा दिनुपर्ने समय बन्ने गरेको छ । रातभर जाग्राम बस्नु दीर्घकालीन समाधान होइन । हात्ती नियमित हिँड्ने मार्ग पहिचान गरी सुरक्षित व्यवस्थापन र मानव–हात्ती द्वन्द्व न्यूनीकरणका दीर्घकालीन उपायमा ध्यान दिनुपर्ने उहाँको भनाइ रहेको छ










Discussion about this post