नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि टुटेको सडक सम्पर्क पुनःस्थापित भएको छ।
नेपाली सेनाले बाढीपछि वैकल्पिक पुल निर्माणको जिम्मेवारी पाएसँगै पाँच दिनमै ५७ दशमलव ९ मिटर लामो एक्रोब्रिज निर्माण सम्पन्न गरेको हो। बिहीबार बेलुकादेखि उक्त पुलबाट सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्।
पुल सञ्चालनमा आएपछि बाढीका कारण लामो तथा घुमाउरो बाटो प्रयोग गर्न बाध्य स्थानीयलाई ठूलो राहत मिलेको छ। यसअघि देवीघाटमा पुल नहुँदा घर पुग्न दुई–तीन घण्टासम्म लाग्ने गरेकामा अहिले करिब २५ मिनेटमै आवतजावत गर्न सकिने स्थानीयले बताएका छन्।
बेलकोटगढी नगरपालिका–८ का सौगात पुडासैनीले पुल सञ्चालनमा आएपछि बाढीबाट प्रभावित नागरिकलाई ठूलो राहत मिलेको बताए। उनका अनुसार पुल नहुँदा नजिकैका गाउँसम्म पुग्नसमेत कठिन भएको थियो।
त्यस्तै, स्थानीय मनोज तामाङले बाढीले पुल बगाउँदा सर्वस्व गुमाएजस्तो अनुभव भए पनि छोटो समयमै वैकल्पिक पुल निर्माण भएपछि पुनः आशा पलाएको बताए।
नेपाली सेनाका रथी रञ्जित थापाका अनुसार पुल निर्माणका लागि ५५ जना प्राविधिक जनशक्ति दिनरात खटिएका थिए। भदौ २० गतेदेखि निर्माण सुरु गरिएको पुलको मुख्य काम ७२ घण्टे कार्यअवधिमै सम्पन्न गरिएको उनले जानकारी दिए।
नेपाली सेनाले प्राविधिक परीक्षण सम्पन्न गरेपछि पुल सर्वसाधारणका लागि सञ्चालनमा ल्याएको हो। विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले छोटो समयमै पुल निर्माण हुनु बाढी प्रभावित नागरिकका लागि महत्वपूर्ण राहत भएको बताए। उनका अनुसार पुल बनेसँगै पृथ्वीराजमार्गसँग टुटेको सडक सम्पर्कसमेत पुनः जोडिएको छ।
पुल निर्माण नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटले गरेको हो। सेनाको १४ नम्बर बाहिनीका अनुसार देवीघाटमा जडान गरिएको एक्रोब्रिज यसअघि गजुरीमा रणनीतिक जगेडा पुलका रूपमा राखिएको थियो। बाढीपछि तत्काल आवश्यकता देखिएपछि गजुरीबाट ल्याएर तादी खोलामा जडान गरिएको हो।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका अनुसार बाढीले पुरानो पुलको करिब ५५ मिटर लामो बक्स गर्डर भत्काएकाले सोही स्थानमा एक्रोब्रिज जडान गर्न सहज भएको थियो। रातोमाटे क्षेत्रमा बाँकी सडक मर्मतको कामसमेत अघि बढाइएको छ।
अमेरिकी प्रविधिमा आधारित उक्त एक्रोब्रिजको भारवहन क्षमता ६० टन रहेको नेपाली सेनाले जनाएको छ। पुल सञ्चालनमा आएसँगै भोटेकोशी बाढीका कारण टुटेको महत्वपूर्ण सडक सम्पर्क पुनःस्थापित हुनुका साथै नुवाकोटका प्रभावित क्षेत्रका नागरिकको दैनिक आवतजावत सहज भएको छ।










Discussion about this post