काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बस्ने भएको छ। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुख डोलप्रसाद अर्यालले बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्।
रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भदौ ११ गते अर्को सूचना प्रकाशित नभएसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको थियो। बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी दलले तत्काल सदन बोलाउन सभामुखको ध्यानाकर्षण गराउँदै आएको थियो।
बुधबार बस्ने बैठकमा सभामुख अर्यालले विशेष प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।
उनका अनुसार सभामुखले पेस गर्ने विशेष प्रस्तावपछि अन्य नियमित कार्यसूची नराखी विपद् तथा बाढीबाट उत्पन्न परिस्थितिमाथि केन्द्रित भएर छलफल हुनेछ। बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले विपद्को अवस्था, उद्धार, राहत तथा पुनःस्थापनालगायत विषयमा धारणा राख्नेछन्।
सभामुख आफैँले विशेष प्रस्ताव पेस गर्ने भएकाले उक्त प्रस्तावमा छुट्टै प्रस्तावक वा समर्थकको व्यवस्था नरहेको परियारले बताए।
उनका अनुसार आगामी केही दिनसम्म संसद्का बैठकलाई महाविपद् र त्यसबाट उत्पन्न समस्यामा केन्द्रित गरिनेछ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतको अवस्था, सरकारको तयारी र पुनःस्थापनाका विषयमा सदनमा छलफल हुने बताइएको छ।










Discussion about this post