काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास (होस्टेल) लाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन २१ बुँदे निर्देशन जारी गर्दै एक महिनाभित्र तोकिएको मापदण्ड पूरा गर्न अल्टिमेटम दिएको छ।
पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि दुर्व्यवहार, तोकिएकोभन्दा बढी शुल्क असुली, गुणस्तरहीन खानाको व्यवस्था तथा झडप र सुरक्षासम्बन्धी गम्भीर घटना बढ्दै गएपछि प्रशासनले होस्टेल सञ्चालनमा कडाइ गरेको हो।
गत शुक्रबार काठमाडौंको शङ्खमूलस्थित भ्याली ब्वाइज होस्टेलमा २२ वर्षीय वसन्त कालाखेतीको हत्या भएको घटनापछि निजी छात्रावासको सुरक्षा तथा व्यवस्थापनबारे थप प्रश्न उठिरहेका बेला प्रशासनले नयाँ निर्देशन जारी गरेको हो।
निर्देशनअनुसार होस्टेलभित्र लागूऔषध, मदिरा तथा सुर्तीजन्य पदार्थ पूर्ण रूपमा प्रतिबन्ध गर्नुपर्नेछ। कोठा र शौचालयबाहेकका स्थानमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, होस्टेलमा २४ घण्टा जिम्मेवार वार्डेन तथा सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। महिला र पुरुषका लागि एउटै भवनमा होस्टेल सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ।
होस्टेलमा बस्ने विद्यार्थीको विवरण नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउनुपर्ने, स्वच्छ तथा गुणस्तरीय खानाको व्यवस्था गर्नुपर्ने र विद्यार्थीका लागि छुट्टै तथा उपयुक्त अध्ययन कक्ष अनिवार्य रूपमा राख्नुपर्ने निर्देशनमा उल्लेख छ।
प्रशासनले यसअघि मापदण्डविपरीत सञ्चालन भएका केही होस्टेललाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै सिलबन्दीसमेत गरेको जनाएको छ।
नयाँ निर्देशनअनुसार सबै निजी छात्रावास सञ्चालकले एक महिनाभित्र आवश्यक सुधार गरी मापदण्ड पूरा गर्नुपर्नेछ। तोकिएको अवधिभित्र निर्देशन पालना नगर्ने होस्टेल सञ्चालकमाथि प्रचलित कानुनबमोजिम थप कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।










Discussion about this post