काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापाको नेतृत्वशैलीप्रति कडा असन्तुष्टि जनाउँदै पार्टीलाई सबै पक्षलाई समेटेर अघि बढाउन सुझाव दिएका छन्। वि।सं। २०८२ को राजनीतिक परिस्थितिको समीक्षा गर्दै खड्काले बीपी कोइरालाको नेतृत्वसँग गगन थापाको नेतृत्वको तुलना गरेका छन्। उनका अनुसार २०१४ सालमा विशेष महाधिवेशनबाट सभापति बनेपछि बीपीले सबै पक्षलाई समेटेर पार्टी एकताबद्ध बनाएका कारण २०१५ सालको निर्वाचनमा कांग्रेसले १०९ मध्ये ७४ सिट जित्न सफल भएको थियो।
तर, गगन थापाको नेतृत्वमा पार्टीले लज्जास्पद निर्वाचन परिणाम बेहोरेको दाबी गर्दै खड्काले नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने बताएका छन्। सभापतिले निर्वाचन परिणामको जिम्मेवारी लिँदै राजीनामा दिएको भनिए पनि पछि फिर्ता लिएकोप्रति समेत उनले प्रश्न उठाएका छन्।
खड्काले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रभाव जमाउँदैमा पार्टी बलियो नहुने टिप्पणी गर्दै कांग्रेसलाई संगठन, कार्यकर्ता र जनताको विश्वासका आधारमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
उनले सभापति थापालाई ‘सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने वा आफ्नो सीमितता स्वीकार गर्ने’ दुईमध्ये एउटा बाटो रोज्न सुझाव दिएका छन्।
खड्काका अनुसार नेतृत्व भनेको पद प्राप्त गर्नु मात्र नभई संगठनलाई एकताबद्ध बनाउँदै इतिहासप्रतिको जिम्मेवारी पूरा गर्नु हो। उनले पार्टीभित्र फरक विचार राख्ने नेताकार्यकर्तालाई सम्मान गर्दै सामूहिक नेतृत्वको संस्कार विकास गर्नुपर्ने धारणा राखेका छन्










Discussion about this post