काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत्, सिँचाइ र सार्वजनिक सेवामा लगाएको कर वृद्धिको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् ।
दुई तिहाइ बहुमतको सरकारले ल्याएको बजेटले आम जनता र न्यून वर्गीय श्रमिकलाई मारमा पारेको भन्दै उनले आपत्ति जनाएका हुन् ।
माइतीघरमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सरकारले घरायसी विद्युतमा ५ प्रतिशत र उद्योग, खानेपानी तथा सिँचाइमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० लगाएर किसान र उपभोक्तामाथि अन्याय गरेको बताए ।
अध्यक्ष घिसिङले न्यून आय भएका राइड शेयरिङमा आबद्ध युवाहरूमाथि ५ प्रतिशत भ्याट र व्यक्तिगत आयकर थोपरिएको तर उच्च पदस्थ सांसदहरूको करको दर न्यून रहेको भन्दै आक्रोश व्यक्त गरे । उनले सरकारको कर नीति मध्यम र न्यून वर्गीय जनताको हित विपरीत रहेको दाबी गरे ।
विद्युत् खपत बढाउन र ग्यासको परनिर्भरता घटाउन सरकारले ठोस योजना ल्याउनुपर्नेमा उनले जोड दिए । ईभीमा भन्सार दर बढाइनु र आत्मनिर्भर अर्थतन्त्रको दिशामा अवरोध पुर्याउनु गलत नीति भएको उनको तर्क छ ।
उनले भने ‘किसानले प्रयोग गर्ने सिँचाइको विद्युत् महसुल निःशुल्क गर्नुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट थपिनु संवेदनशील विषय हो । शिक्षा र स्वास्थ्यमा जनदबाबपछि भ्याट हटाइए पनि विद्युतजस्तो अत्यावश्यक सेवामा अझै कायमै राखिएको छ । अहिले ग्यासमा लाइन बस्नुपर्ने अवस्था छ, जब कि इन्डक्सन चुल्हो प्रयोग गर्दा ५० प्रतिशत सस्तो पर्छ । इन्डक्सन र चार्जिङ स्टेसनले ट्रान्सफर्मर पड्किन्छ भन्नु भ्रम फैलाउने काम हो । यसले ईभी ९विद्युतीय सवारी० प्रयोगकर्तालाई निरुत्साहित गर्दछ ।’
घिसिङले डेडिकेटेड र ट्रंक लाइनको अर्बौँ रुपैयाँ बक्यौता उठाउनु पर्ने मागसमेत दोहोर्याए । आफू विद्युत् प्राधिकरणमा रहँदा बक्यौता उठाउन खोज्दा सरकारले हटाएको स्मरण गर्दै उनले अहिले पनि विभिन्न समिति बनाएर सो रकम मिनाहा गर्न खोजिएकोमा खबरदारी गरे ।
विद्युतमा लगाइएको भ्याट फिर्ता गर्न र ऊर्जा क्षेत्रको खपत बढाउने स्पष्ट कार्ययोजना ल्याउन माग गर्दै उज्यालो नेपाल पार्टीले एक महिना लामो देशव्यापी अभियान सञ्चालन गरेको छ ।










Discussion about this post