काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूको राष्ट्रिय भेलाले आगामी १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।
साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय भेलाले पार्टीको आन्तरिक सुदृढीकरण, संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा विभिन्न प्रस्ताव पारित गरेको हो।
भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा त्यसको नेतृत्व सभापति देउवाले नै गर्ने निर्णय गरेको जनाएको छ। देउवाको नेतृत्वमा पार्टीलाई एकताबद्ध गर्दै महाधिवेशन सफल बनाउने प्रतिबद्धता पनि भेलाले व्यक्त गरेको छ।
महाधिवेशनसम्म पार्टीका नियमित गतिविधिहरू सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले समन्वय गर्ने निर्णय गरिएको छ।
राजनीतिक प्रस्तावमार्फत भेलाले वि.सं. २०३३ मा महामानव बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति वर्तमान राजनीतिक परिस्थितिमा समेत सान्दर्भिक रहेको निष्कर्ष निकालेको छ।
मुलुकको वर्तमान जटिल परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि अन्य लोकतान्त्रिक शक्तिहरूसँग निरन्तर संवाद र सहकार्य गर्ने नीति लिइएको नेता दीपक कुइँकेलले जानकारी दिए।
भेलाले नेपालको सनातन धर्म तथा संस्कृतिलाई राष्ट्रिय पहिचानको अभिन्न अंगका रूपमा स्वीकार गर्दै हिन्दु, बौद्ध, किराँत तथा प्राकृतलगायत धर्म र संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहने प्रस्ताव पारित गरेको छ। धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र सहिष्णुतालाई कायम राख्ने विषयमा पनि भेलाले जोड दिएको छ।
त्यस्तै, संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधनका लागि संवैधानिक व्यवस्थाअनुसार सम्बन्धित पक्षसँग संवाद गरी निकास खोज्ने निर्णय गरिएको जनाइएको छ।
भेलामा प्राप्त सुझाव तथा प्रस्तावलाई परिमार्जनसहित अन्तिम रूप दिने जिम्मेवारी नेता नारायणप्रकाश साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ। समितिमा उमाकान्त चौधरी र सीता राना सदस्य तथा मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सहयोगीका रूपमा रहेका छन्।










Discussion about this post