कञ्चनपुर । हिन्दू स्वयंसेवक संघ नेपाल, कञ्चनपुर जिल्ला कार्यसमितिको आयोजनामा गुरु पूर्णिमाको अवसरमा आयोजित गुरु दक्षिणा समर्पण उत्सव शनिबार वेदकोटमा सम्पन्न भएको छ।
वेदकोट नगरपालिका–७ स्थित सुडा साना किसान कृषि सहकारी संस्थाको सभाहलमा साउन २३ गते आयोजित कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका वेदकोट नगर संघचालक राकेशबहादुर चन्दको अध्यक्षता रहेको थियो। कार्यक्रममा वेदकोट नगरपालिका स्तरीय रेडक्रस समितिका अध्यक्ष तथा समाजसेवी शंकरदत्त जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा संघका विभाग कार्यवाह हरिष जोशी प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै हिन्दू स्वयंसेवक संघ नेपालका सम्भाग सह–कार्यवाह प्रदिप पाल , जिल्ला प्रचार प्रमुख रवि भट्ट, नगर कार्यवाह प्रजापति भट्ट, तथा कृषि शाखा प्रमुख सुशील चौहानको पनि उपस्थिति रहेको थियो।

समाजसेवी तथा धार्मिक व्यक्तित्व तारा डगौरा र जयदेव पन्त विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको कार्यक्रममा सम्भाग प्रचारक तथा बडघर अध्यक्ष विष्णु डगौरा लगायत संघसँग आबद्ध स्वयंसेवक तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
गुरु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा गुरु तथा अग्रजप्रतिको सम्मान, श्रद्धा, समर्पण र संस्कारलाई केन्द्रमा राख्दै गुरु दक्षिणा समर्पण गरिएको थियो। कार्यक्रममा हिन्दू स्वयंसेवक संघका गतिविधि, उद्देश्य तथा स्वयंसेवकहरूले समाजमा निर्वाह गर्दै आएको भूमिकाका विषयमा समेत चर्चा गरिएको थियो।
संघले व्यक्ति निर्माणसँगै समाजमा सेवा, अनुशासन, संस्कार र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। वेदकोटमा आयोजित गुरु दक्षिणा समर्पण उत्सवलाई पनि संघको नियमित गतिविधिअन्तर्गतको महत्वपूर्ण कार्यक्रमका रूपमा लिइएको आयोजकको भनाइ छ।
कार्यक्रममा वेदकोटका विभिन्न क्षेत्रबाट करिब ८० जनाको सहभागिता रहेको थियो। विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन संघका सम्भाग प्रचार प्रमुख प्रकाश कलौनीले गर्नुभएको थियो।
कार्यक्रममार्फत संकलित गुरु दक्षिणाबाट संघले विभिन्न स्थानमा सञ्चालन गर्दै आएका सामाजिक तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने आयोजकले जनाएको छ। विशेषगरी आर्थिक रूपमा विपन्न तथा जेहेन्दार बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएका आवासीय विद्यालयका गतिविधि तथा स्वयंसेवकहरूको आवश्यक व्यवस्थापनमा गुरु दक्षिणाबाट प्राप्त सहयोग उपयोग गरिने जनाइएको छ।
शिक्षा, सेवा र सामाजिक उत्तरदायित्वसँग जोडिएका यस्ता गतिविधिले समुदायमा सहयोग, सहकार्य र सेवाभावको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
गुरु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रमले गुरु तथा अग्रजप्रतिको सम्मानसँगै सामाजिक सेवा, संस्कार र जिम्मेवारीको भावनालाई समेत जोड दिएको आयोजकले जनाएको छ।











Discussion about this post