फिफा विश्वकप फुटबलको अन्तिम–१६ चरणका खेलपछि इङ्ग्ल्यान्ड र नर्वे क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अब यी दुई टोलीबीच जुलाई १२ (आउँदो आइतबार) बिहान अमेरिकाको मियामीमा क्वाटरफाइनल खेल हुनेछ।
आज भएको खेलमा इङ्ग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ गोलअन्तरले हराउँदै अन्तिम आठमा स्थान बनायो। इङ्ग्ल्यान्डको जितमा जुड बेलिङहमले दुई गोल गरे भने कप्तान ह्यारी केनले एक गोल थपे। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले एक/एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यस हारसँगै मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको छ। यसअघि अर्को सहआयोजक क्यानडा पनि अन्तिम–१६ बाटै बाहिरिएको थियो।
अर्को प्रि–क्वाटरफाइनलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ। नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालाण्डले दुई गोल गर्दै टोलीलाई ऐतिहासिक सफलता दिलाए। ब्राजिलका लागि अतिरिक्त समयमा नेइमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि हार टार्न सकेनन्।
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले पहिलो पटक क्वाटरफाइनल पुग्दै नयाँ इतिहास रचेको छ। यता ब्राजिल भने सन् १९९० यताकै पहिलो पटक क्वाटरफाइनल पुग्नुअघि नै विश्वकपबाट बाहिरिएको छ।
विश्वकपबाट अप्रत्याशित रूपमा बाहिरिएसँगै ब्राजिलका चर्चित फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। राष्ट्रिय टोलीबाट लामो समयसम्म विश्वकप उपाधिको सपना पछ्याएका नेइमारको अन्तर्राष्ट्रिय यात्रा यस हारसँगै टुङ्गिएको छ।










Discussion about this post