फिफा विश्वकप फुटबलको ‘राउन्ड अफ ३२’ अन्तर्गत आज राति ब्राजिल र जापान आमनेसामने हुँदैछन्। खेल राति पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा सुरु हुनेछ।
दुवै टोली समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन्। ब्राजिल समूह ‘सी’ को विजेता बन्दै र जापान समूह ‘एफ’ को उपविजेता बन्दै अन्तिम ३२ मा पुगेका हुन्।
समूह चरणमा ब्राजिलले स्कटल्यान्ड र हैटीलाई पराजित गर्दै मोरक्कोसँग बराबरी खेलेको थियो। जापानले ट्युनिसियालाई हराउँदै स्वीडेन र नेदरल्यान्ड्ससँग बराबरी खेलेको थियो।
ब्राजिल र जापानबीच विश्वकपमा यो दोस्रो भेट हो। यसअघि सन् २००६ मा जर्मनी विश्वकपमा ब्राजिलले जापानलाई ४–१ ले पराजित गरेको थियो।
पाँच पटकको विश्व विजेता ब्राजिलले अन्तिम पटक सन् २००२ मा उपाधि जितेको थियो भने जापान अहिलेसम्म प्रिक्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन।
यद्यपि पछिल्लो वर्षको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई ३–२ ले हराउँदै ऐतिहासिक जित दर्ता गरेको थियो।
यो खेलको विजेताले प्रिक्वार्टरफाइनलमा आइभरी कोस्ट र नर्वेबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यसैबीच ‘राउन्ड अफ ३२’ अन्तर्गत भोलि बिहान जर्मनी र पाराग्वे तथा नेदरल्यान्ड्स र मोरक्कोबीचका खेल पनि हुनेछन्।










Discussion about this post