धनगढी । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
एन्फाको कार्यक्रमअन्तर्गत ग्रासरुट्स फुटबल विकासका लागि प्रशिक्षक तथा ग्रासरुट्स फोकल पर्सनहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले धनगढीस्थित देव तालिम केन्द्रमा कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालामा कैलाली र कञ्चनपुर जिल्लाका फुटबल प्रशिक्षक तथा ग्रासरुट्स फोकल पर्सनहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ग्रासरुट्स फुटबलको विकास, बालबालिकामाझ फुटबलको पहुँच विस्तार, नेतृत्व विकास तथा समुदायस्तरमा फुटबल प्रवर्द्धनका विविध विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो ।
प्रशिक्षणका क्रममा एन्फाका हेड अफ एजुकेसन संजित सिंह र चेत नारायण श्रेष्ठ ले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
एन्फाका हेड अफ एजुकेसन संजित सिंहले कार्यशालाले स्थानीय स्तरमा फुटबल विकासका लागि आवश्यक नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै ग्रासरुट्स फुटबल कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी सबै प्रशिक्षकलाई धन्यवाद दिँदै एन्फाका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष अनिल मल्ल ले आगामी दिनमा फुटबल विकासका लागि सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुर जिल्लाले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले फुटबल विकासलाई थप प्रभावकारी बनाउन सबै पक्षले जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यशालामा सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । यस्ता कार्यक्रमले बाल फुटबल विकास, प्रशिक्षकहरूको क्षमता अभिवृद्धि तथा फुटबलको दिगो विकासमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।










Discussion about this post