फिफा विश्वकप फुटबलअन्तर्गत आज राति समूह ‘जे’ मा अर्जेन्टिना र अस्ट्रिया आमनेसामने हुँदैछन्। खेल अमेरिकाको डालास रङ्गशालामा राति पौने ११ बजे सुरु हुनेछ।
दुवै टोलीले आफ्नो पहिलो खेल जितेर आत्मविश्वासका साथ मैदान उत्रिन लागेका हुन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई ३–० ले पराजित गरेको थियो भने अस्ट्रियाले जोर्डनलाई ३–१ ले हराएको थियो।
विश्वकप इतिहासमा यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन्। यसअघि भएका दुई मैत्रीपूर्ण खेलमध्ये सन् १९८० मा डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई ५–१ ले हराएको थियो भने सन् १९९० मा खेल १–१ को बराबरीमा सकिएको थियो।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले हाल विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन्। मेसी र जर्मनीका मिरोस्लाभ क्लोसले समान १६–१६ गोल गरेका छन्। आजको खेलमा मेसीलाई एकल रूपमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरीयतामा साविक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदा अस्ट्रिया २१औँ स्थानमा छ।
त्यस्तै, भोलि बिहान समूह ‘आई’ का दुई खेल पनि हुनेछन्। बिहान पौने ३ बजे फ्रान्स र इराक अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भिड्नेछन्। पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराएको थियो भने इराक नर्वेसँग ४–१ ले पराजित भएको थियो। वरीयतामा फ्रान्स दोस्रो र इराक ६०औँ स्थानमा छन्।
बिहान पौने ६ बजे नर्वे र सेनेगल अमेरिकाको न्युयोर्क–न्यु जर्सी रङ्गशालामा आमनेसामने हुनेछन्। नर्वे २७औँ र सेनेगल १७औँ स्थानमा रहेका छन्।
त्यसैगरी बिहान पौने ९ बजे समूह ‘जी’ अन्तर्गत जोर्डन र अल्जेरिया सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भिड्नेछन्। वरीयतामा जोर्डन ६८औँ र अल्जेरिया २९औँ स्थानमा छन्।










Discussion about this post