कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा युवा नेतृत्वको विकास र विपद् व्यवस्थापनमा युवाहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ ‘उत्थानशील युवा सञ्जाल’ अभिमुखीकरण सम्पन्न गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र डीसीए नेपालद्वारा संयुक्त रूपमा सञ्चालित ‘सुदृढ’ परियोजना अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको हो।

वेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले समुदायमा उत्थानशील युवा सञ्जालको भूमिका, यसको मुख्य उद्देश्य र आगामी दिनमा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे प्रष्ट पार्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार नगरका सबै वडाहरूमा वडा युवा सञ्जाल गठन गर्ने र विपद् सचेतना लगायतका रचनात्मक कार्यक्रमहरू सञ्चालन गरेर युवाहरूलाई दक्ष स्वयंसेवकको रूपमा तयार गर्ने यसको मुख्य लक्ष्य रहेको छ। मुख्य गरी स्थानीय तहमा विपद् व्यवस्थापन र सामाजिक रूपान्तरणका लागि सबल युवा नेतृत्व तयार गर्नु नै यसको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।

कार्यक्रमका बोल्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले नगरपालिका युवाहरूको क्षमता विकास र नेतृत्व निर्माणका लागि सदैव तत्पर रहेको बताउनुभयो। उहाँले युवाहरूलाई केवल आश्वासनमा मात्र सीमित नभई ठोस र परिणाममुखी योजनाहरू लिएर आउन आह्वान गर्दै नगरपालिकाले आगामी नीति तथा कार्यक्रममा युवामैत्री कार्यक्रम र बजेटलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा वेदकोट उत्थानशील युवा सञ्जालकी संयोजक कामना जोशीले सञ्जाल गठन भएको दुई महिना मात्र भएको जानकारी दिँदै उक्त अवधिमा सञ्जालले गरेका विभिन्न गतिविधि, प्रारम्भिक सचेतनामूलक कार्य र आगामी कार्ययोजनाबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।

नगर उपप्रमुख तुलसी जोशीले युवाहरूको नेतृत्व विकास र क्षमता अभिवृद्धि विना समृद्ध नगरको परिकल्पना गर्न नसकिने बताउनुभयो। उहाँले स्थानीय तहका हरेक सामाजिक गतिविधि र सकारात्मक अभियानहरूमा युवाहरूलाई अग्रसर गराउन र उनीहरूको क्षमतालाई सही दिशामा परिचालन गर्न नगरपालिकाले सधैं विशेष नीति अवलम्बन गर्ने बताउनुभयो।

उक्त कार्यक्रममा वेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट लगायत अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो। अभिमुखीकरण कार्यक्रममा वेदकोट नगरपालिकाका १० वटै वडाबाट युवाहरूको सक्रिय सहभागिता रहेको सुदृढ परियोजनाकी सामाजिक परिचालिका अनिता लावडले जानकारी दिनुभयो।

कार्यशालामा सहभागी युवाहरूले विपद्को समयमा आफ्नो समुदायमा अग्रपङ्क्तिमा रहेर काम गर्ने र सञ्जाललाई वडा स्तरसम्मै विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।










Discussion about this post