धनगढी — सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिका को एक टोली अपि हिमाल बेस क्याम्प यात्रामा प्रस्थान गरेको छ।
‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ भन्ने नारासहित उपमहानगरपालिकाका मेयर गोपाल हमाल को नेतृत्वमा ३० सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित मेयर हमाल स्वयं यात्रामा सहभागी भएका हुन्।
यसअघि उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्दा उनले ‘सुन्दर सुदूरपश्चिम’ अभियान सुरु गरेका थिए। सोही अभियानको निरन्तरताका रूपमा अहिले स्थानीय सरकारकै पहलमा हिमाली तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि यो कदम चालिएको उनले बताएका छन्।
सोमबार धनगढीमा आयोजित औपचारिक कार्यक्रमबीच बाजागाजा र फूलमालासहित टोलीलाई भव्य विदाइ गरिएको थियो। स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा सर्वसाधारणको उपस्थितिमा टोलीलाई शुभकामना दिँदै विदाइ गरिएको जनाइएको छ।
१० दिने कार्यतालिका तय गरी प्रस्थान गरेको उक्त टोलीले अपि हिमाल बेस क्याम्प सम्म पदयात्रा गर्नेछ। धनगढीबाट बसमार्फत यात्रा सुरु गरिएको टोली निर्धारित स्थानसम्म पुगेपछि पैदल यात्रा गर्दै आधार शिविरसम्म पुग्ने लक्ष्य राखिएको छ।
यस यात्राबाट सुदूरपश्चिमका ओझेलमा परेका पर्यटकीय सम्भावनाहरू उजागर हुने अपेक्षा गरिएको छ।










Discussion about this post