कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर २ एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका बचनबहादुर सिंहले भूमिहीन अव्यवस्थित बसोवास गरिरहेका सुकुम्वासी, दलित, मुक्त कमैया परिवारलाई लालपुर्जा वितरण गर्ने उद्घोष गरेका छन् । कञ्चनपुर क्षेत्र नम्बर २ मा ९–१० वटा शिविरमा लामो समयदेखि बसोवास गर्दै आएका नागरिकले वर्षौदेखि लाजपुर्जा विहीन बन्नु परेकोले आफूले निर्वाचित भएपछि उनिहरुलाई जग्गाधनी लालपुर्जा वितरण गरी भूमिको मालिक बनाउने बताए ।
नेकपा ९एमाले०का उम्मेदवार सिंहले कञ्चनपुर क्षेत्र नम्बर २ को समग्र विकास र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित आफूले मतदातसँग मत मागिरहेको बताए । उनले विगतमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उम्मेदवारले जनताको आवश्यकता र चाहना बमोजिम काम नगरेकोले यस पटक आफु विजयी भएपछि यस क्षेत्रको समग्र विकासका कामहरु अगाडी बढाइने उनले बताए । सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, सरल र जनमैत्री बनाउने नेता सिंहले बताए । भ्रष्टाचारविरुद्ध कडाइका साथ उत्रिने, जनताको गुनासो सुन्ने प्रभावकारी संयन्त्र बनाउने तथा जनप्रतिनिधि र नागरिकबीच नियमित संवाद कायम गरी कञ्चानपुर क्षेत्र नम्बर २ मा विकास निर्माणका कामलाई अघि बढाउने उनले बताए ।
शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक क्याम्पसको स्तरोन्नति, विद्यालयमा डिजिटल कक्षा सञ्चालन, छात्रवृत्ति विस्तार तथा विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने सिंहको प्रतिबद्धता छ । विपन्न, दलित र जेहेन्दार विद्यार्थीलाई विशेष सहयोग उपलब्ध गराइने उनले बताए ।
स्वास्थ्य सेवातर्फ प्रत्येक वडामा स्वास्थ्य संस्था स्तरोन्नति गर्ने, विशेषज्ञ सेवा विस्तार गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउने योजना आफ्नो रहेको सिंहको भनाइ छ ।
स्वच्छ खानेपानी र सरसफाइमा सबै नागरिकको पहुँच पु¥याउने लक्ष्य रहेको उनले घरदैलो अभियानका क्रममा जनतामाझ प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै किसानलाई मल, बीउ र उपकरणमा अनुदान दिने, सिँचाइ सुविधा विस्तार गर्ने, कोल्ड स्टोर स्थापना गर्ने तथा उत्पादनको उचित बजारीकरण गर्ने योजना उनले अघि सारेको बताए । युवालाई सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम र उद्यमशीलतामा जोड दिँदै रोजगारी सिर्जना गरिने उनको भनाइ छ ।
पूर्वाधार विकासअन्तर्गत सडक कालोपत्रे, पुल निर्माण, चार लेन सडक विस्तार तथा धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र विकास गरिने प्रतिबद्धता सिंहको छ । भूमिहीन, दलित र विपन्न परिवारका लागि आवास निर्माण र भूमि समस्या समाधानमा पहल गर्ने योजना आफ्नो रहेको उनको भनाइ छ ।
सिंहले कञ्चनपुर–२ को समृद्धि आफ्नो राजनीतिक जिम्मेवारी भएको उल्लेख गर्दै आगामी निर्वाचनमा आफूलाई विजयी गराई विकासको अभियानलाई सफल बनाउन मतदातासँग अपिल गर्दै आएकोले जनताले यसपालीको निर्वाचनमा आफूलाई विजयी गराउने आश्वासन दिएको बताए ।









Discussion about this post