कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ मा रहेको जनज्योती एजुकेसनल फाउन्डेसन अन्तर्गत सञ्चालित जनज्योती माध्यमिक विद्यालयको १० औँ वार्षिकोत्सव तथा जनज्योती बहुमुखी क्याम्पसको २४ औँ वार्षिकोत्सव सहितको अभिभावक दिवस शनिबार सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरी रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व जनज्योती एजुकेसनल फाउन्डेशनका अध्यक्ष माधव प्रसाद जोशीले गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूले सुदूरपश्चिमको मौलिक पहिचान झल्किने लोक संस्कृति, नृत्य र विविध कला प्रस्तुत गरेका थिए। साथै, वार्षिक उपलब्धिमा आधारित विविध पुरस्कार तथा सम्मान वितरण गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले जनज्योती माध्यमिक विद्यालयले स्थापना भएको केही वर्षमै शैक्षिक गुणस्तर, व्यवस्थापन र सह-पाठ्यक्रम गतिविधिमा उल्लेख्य प्रगति हासिल गरेको बताउनुभयो। उहाँले छैटौँ वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालय अभिभावक, समुदाय र फाउन्डेशनको निरन्तर साथका कारण निरन्तर उकासिएको उल्लेख गर्नुभयो।

त्यस्तै, प्रमुख अतिथि लक्ष्मण गिरीले जनज्योतीले क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै उदाहरणीय भुमिका निभाइरहेको चर्चा गर्नुभयो। विद्यालयले सिर्जनशील, अनुशासित र उत्तरदायी विद्यार्थी उत्पादनमा देखाएको प्रतिबद्धताप्रति उनले प्रशंसा व्यक्त गर्दै समुदाय–विद्यालय सहकार्य अझै सुदृढ हुनुपर्नेमा जोड दिनुभयो।

फाउन्डेसनका अध्यक्ष माधव प्रसाद जोशीले अभिभावक दिवसले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध अझ गाढा बनाउने बताउनुभयो। विद्यालयलाई शिक्षा, खेलकुद र संस्कृतिमा उत्कृष्ट मोडेलको रूपमा उभ्याउन निरन्तर प्रयास भइरहेको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा जनज्योती बहुमुखी क्याम्पसद्वारा आयोजना गरिएको खेलकुद सप्ताहका विजयीहरूलाई समेत पुरस्कार वितरण पनि गरिएको थियो। सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था मानिने जनज्योती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश दत्त जोशीले क्याम्पसले सह–पाठ्यक्रम, खेलकुद र प्रतिभा विकासमा निरन्तरता दिइरहेको बताउनुभयो।
त्यस्तै, कार्यक्रममा जनज्योतीका पूर्व विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। हाल कञ्चनपुरका विभिन्न विद्यालयमा प्रधानाध्यापक तथा शैक्षिक नेतृत्व गर्दै आएका पूर्वविद्यार्थीको योगदानलाई उच्च मूल्यांकन गर्दै सम्मान गरिएको जनाइएको छ।
त्यस्तै आगामी रजत जयन्तिमा जनज्योतीमा अध्ययन गरी शिक्षा, प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य, सामाजिक तथा सरकारी क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका पूर्वविद्यार्थीलाई विशेष सम्मान गरिने जनाइएको छ।
कार्यक्रममा सहभागी अभिभावक तथा अतिथिहरूले विद्यालयले छोटो समयमा उल्लेखनीय प्रगति गरेको भन्दै सराहना व्यक्त गरेका थिए। समुदायको साथ र विद्यालयको प्रतिबद्धताले जनज्योतीलाई सुदूरपश्चिमको शैक्षिक क्षेत्रको उत्कृष्ट मोडेलका रूपमा स्थापित गर्ने अपेक्षा सहभागीले व्यक्त गरेका छन्।










Discussion about this post