कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को जिल्ला परियोजना सल्लाहकार समिति बैठक, सुदूरपश्चिम प्रदेशस्तरीय जानकारी आदान–प्रदान तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। बुधबार जिल्ला समन्वय समिति कञ्चनपुरको सभाहलमा आयोजित कार्यक्रममा संस्थाले सञ्चालन गर्दै आएका परियोजनाका उपलब्धि, सिकाइ र चुनौतीबारे विस्तृत छलफल गरिएको हो।

कार्यक्रमका सभापति तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले नेपाल राष्ट्रिय समाज कल्याण संघले जातीय विभेदमा पारिएका दलित समुदाय, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायहरूको उत्थानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्यामएको बताए। उनले संस्थाले पारदर्शी, उत्तरदायी र इमान्दारितापूर्वक काम गर्दै आएको कारण ३६ वर्षे संस्थागत यात्रा सफलतापूर्वक पूरा गर्न सकेको उल्लेख गरे। पारदर्शी रूपमा कार्यक्रम सञ्चालन गर्ने अभ्यासकै कारण सामाजिक लेखा परीक्षण र जिल्ला परियोजना सल्लाहकार समिति बैठक आयोजना गर्न सकिएको उनको भनाइ थियो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले एनएनएसडब्ल्यूएले विपद् जोखिम न्यूनीकरण, सामाजिक समावेशीकरण तथा समुदायको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले सरकारी निकाय, स्थानीय तह र गैरसरकारी संस्थाबीचको समन्वयले सामाजिक रूपान्तरणलाई थप प्रभावकारी बनाउने धारणा व्यक्त गरे।

प्रदेश सभा सदस्य बेल बहादुर रानाले संस्थाले ग्रामीण तथा जोखिममा रहेका समुदायको जीवनस्तर सुधारका लागि निरन्तर गर्दै आएको प्रयास प्रशंसनीय रहेको बताए। उनले यस्ता सामाजिक परीक्षण कार्यक्रमले संस्थागत सुशासन, जवाफदेहिता र पारदर्शिता सुदृढ गर्न सहयोग पुग्ने उल्लेख गरे।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरूले संस्थाले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, जलवायु उत्थानशीलता तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सञ्चालन गरिरहेका कार्यक्रमहरूको उद्देश्य, कार्यक्षेत्र र हालसम्म हासिल उपलब्धिबारे जानकारी गराए। उनले सरोकारवालाबाट प्राप्त सुझावलाई आगामी कार्यक्रम योजना र कार्यान्वयनमा समेट्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा संस्थाद्वारा हाल सञ्चालनमा रहेका विभिन्न परियोजनाका कार्यक्रम संयोजकहरूले आ–आफ्ना परियोजनाबाट प्राप्त उपलब्धि, अनुभव र चुनौतीबारे प्रस्तुति गरेका थिए। साथै संस्थाको तर्फबाट वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक पारदर्शिता र उत्तरदायित्वका विषयमा जानकारी गराइएको थियो।










Discussion about this post