कञ्चनपुर । शैक्षिक क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको सार्क एजुकेसन फाउण्डेशनले २०० भन्दा बढी विद्यार्थीहरूको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई फाउण्डेशनको शैक्षिक वातावरण, उपलब्ध स्रोतसाधन र भविष्यका सम्भावनाहरूबारे विस्तृत जानकारी दिनु रहेको फाउण्डेशनले जनाएको छ।
कार्यक्रमको सभाध्यक्षता सार्क एजुकेसन फाउण्डेशनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि फाउण्डेशनको प्रतिबद्ध रहेको र आगामि दिनमा पनि शैक्षिक उत्कृष्टताका लागि निरन्तर प्रयास गरिरहने बताउनुभयो।

कार्यक्रमको सुरुवातमा फाउण्डेशनका प्राज्ञिक निर्देशक दीपेन्द्र जोशीको स्वागत मन्तव्य राख्नुभएको थियो। उहाँले नवआगन्तुक विद्यार्थीहरूलाई फाउण्डेशन परिवारमा स्वागत गर्दै उनीहरूको शैक्षिक यात्रा सफल हुने विश्वास व्यक्त गर्नुभयो।

फाउण्डेशनका प्लस टु संयोजक भागवत भट्टले कार्यक्रममा प्लस टु तहका पाठ्यक्रम, अतिरिक्त क्रियाकलाप र फाउण्डेशनले प्रदान गर्ने विभिन्न सुविधाबारे विस्तृत जानकारी दिनुभयो। उहाँले विद्यार्थीहरूलाई पढाइका साथै व्यक्तित्व विकासमा समेत ध्यान दिन आग्रह गर्नुभयो।
अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूले फाउण्डेशनका विभिन्न विभागका बारेमा जानकारी लिने र आफ्ना जिज्ञासाहरू राख्ने अवसर पाएका थिए। यस कार्यक्रमले विद्यार्थीहरूलाई फाउण्डेशनको शैक्षिक वातावरणमा घुलमिल हुन र आफ्नो शैक्षिक यात्राको सुरुवात गर्न सहयोग पुर्याएको छ।










Discussion about this post