काठमाडौँ – एक पटक जाँचपास भइसकेका वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्न सकिने व्यवस्था सहित भन्सार विभागले नयाँ कार्यविधि जारी गरेको छ। भन्सार ऐनको प्रावधानअनुसार राजस्व छल, जालसाजी वा अन्य अनियमितता भएका अवस्थामा वस्तु पुनः जाँच गर्न सकिनेछ।
अबदेखि भन्सार अधिकृतले वस्तुको प्रकृति, परिमाण, वर्गीकरण, ब्रान्ड, उत्पत्तिको देश लगायत विवरण फरक भेटिएमा पुनः नियन्त्रणमा लिएर जाँच गर्न सक्ने छन्। कार्यविधिले जाँच प्रक्रियालाई विधिपूर्वक अगाडि बढाउने स्पष्ट दिशा निर्देशन दिएको छ।
पुनः जाँचका लागि भन्सार अधिकारीले सम्बन्धित निकासी वा पैठारीकर्तालाई सूचना दिनुपर्नेछ र वस्तुको मुचुल्का तयार पार्नुपर्नेछ। साथै, विवरण विश्लेषण गर्न थप कागजात वा तथ्याङ्क माग गर्न सकिनेछ।
वस्तुको पुनः परीक्षणपछि अधिकारीले प्रतिवेदन पेश गर्नुपर्नेछ र प्रतिवेदनका आधारमा महानिर्देशकले ऐन अनुसार आवश्यक निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ। जाँचका क्रममा अन्य निकायको सहयोगसमेत लिन सकिने प्रावधान कार्यविधिमा उल्लेख छ।
यस कार्यविधिले जाँचपासको प्रक्रियालाई पारदर्शी र जवाफदेही बनाउने तथा महसूल छली नियन्त्रणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post