काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको जानकारी निर्वाचन आयोगमा गराएको छ। पार्टीले अध्यक्ष चौधरीमाथि बिधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको आरोप लगाउँदै उनलाई पदमुक्त गरेको हो। पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्, जसलाई पार्टीभित्रै तीव्र विरोध गरिएको थियो।
पार्टी अनुशासन समितिका संयोजक रामलाल डगौराको नेतृत्वमा चौधरीलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाइएको थियो। निर्धारित समयसीमा भित्र चौधरीले स्पष्टीकरण नदिएपछि उनलाई पदबाट हटाउने निर्णय गरिएको हो।
यससम्बन्धी निर्णयको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता गरिएको छ। अनुशासन समितिको निर्णयलाई पार्टीको मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाबाट अनुमोदन गरिनेछ। समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य छन्।










Discussion about this post