काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले पहिलो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गएराति सम्पन्न खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो।
वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ३ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो।
सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले सर्वाधिक २८ रन बनाए। आरिफ शेखले १७ तथा सैफ जैबले १७ रनको योगदान दिए। कप्तान दीपेन्द्रसिंह ऐरी एक रनमा आउट भए भने शेरफाने रदरफोर्ड पहिलो बलमै बोल्ड भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो। विराटनगरका सेहान जयसूर्याले ३९, लोकेश बमले २५ तथा आन्द्रे रसेलले अविजित २९ रन बनाए। सुदूरपश्चिमका अविनाश बोहराले दुई विकेट लिए।
वर्षाका कारण प्रभावित खेल पटक–पटकको छलफलपछि सञ्चालन भएको थियो। राति ९ बजेर ५ मिनेटमा टस भएको खेल ९ बजेर २० मिनेटमा सुरु भएको थियो।
यसअघि विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग ८ रन र दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा आएर विराटनगरले पहिलो जित दर्ता गरेको हो।
यता सुदूरपश्चिमले भने प्रतियोगितामा दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो।
यसैबीच, वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्। एनपीएलअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।










Discussion about this post