काठमाडौं । दसैँमा मासु, चिल्लो पदार्थ, मिठाई तथा मदिराको सेवन बढ्दा मुटुरोगको जोखिमसमेत बढ्न सक्ने भएकाले खानपानमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्सालले चाडपर्वमा आवश्यकताभन्दा बढी खाने, शारीरिक गतिविधि कम गर्ने र नियमित औषधि सेवनमा लापरबाही गर्दा स्वास्थ्यमा असर पर्न सक्ने बताउनुभएको छ।
उहाँले रातो मासु तथा धेरै तेलमा तारेका परिकार कम खान, सन्तुलित भोजन गर्न र नियमित हिँडडुल तथा व्यायाम गर्न सुझाव दिनुभएको छ। साथै, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल तथा मुटुरोग भएका व्यक्तिले खानपान र औषधिमा विशेष सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ।
डा. लम्सालका अनुसार छाती दुख्ने वा भारी हुने, अत्यधिक पसिना आउने, सास फेर्न गाह्रो हुने र चक्कर लाग्नेजस्ता लक्षण देखिएमा तत्काल अस्पताल जानुपर्छ।
उहाँले दसैँमा रमाइलो र खानपानसँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिन, धूमपान तथा मदिराबाट टाढा रहन र नियमित स्वास्थ्य जाँच गर्न आग्रह गर्नुभएको छ।










Discussion about this post