काठमाडौं । गृहमन्त्री सुदन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गरेका हुन्।
गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि गुरुङको यो पहिलो औपचारिक विदेश भ्रमण हो। बिमस्टेकअन्तर्गत सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रका रूपमा रहेको गृहमन्त्रीस्तरीय बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो।
नयाँदिल्लीमा मंगलबार हुने बैठकलाई गृहमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ। बैठकमा बिमस्टेकका सातवटै सदस्य राष्ट्रका आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्रीहरूको सहभागिता रहनेछ।

बैठकमा लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी गतिविधिमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा चुनौती तथा साइबर अपराधजस्ता अन्तरदेशीय र क्षेत्रीय सुरक्षा विषयमा छलफल हुनेछ।
त्यसैगरी, सुरक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न संयन्त्रका छलफलका निष्कर्ष, दस्तावेज पारित गर्ने तथा घोषणापत्र जारी गर्ने कार्यक्रमसमेत रहेको छ।
बैठकमा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा विपद्का समयमा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य विस्तार गर्ने विषयलाई प्राथमिकताका साथ उठाउनेछ।
भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले बिमस्टेकका विभिन्न सदस्य राष्ट्रका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। बैठकमा सहभागी भएर उनी बुधबार स्वदेश फर्कनेछन्।










Discussion about this post