आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज आश्विन कृष्ण औँसीका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।
पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी १६ तिथिमा पितृको सम्झनामा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ। पितृ पक्षको अन्तिम दिन आज औँसी श्राद्ध गरिन्छ।
धार्मिक मान्यताअनुसार पितृ पक्षका अन्य तिथिमा श्राद्ध गर्न छुटेको भए आज गर्न सकिन्छ। आज पनि सम्भव नभए आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म तथा अन्य शास्त्रीय विकल्पअनुसार श्राद्ध गर्न सकिने धर्मशास्त्रविद्हरू बताउँछन्।
यस अवसरमा काठमाडौंको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट तथा त्रिवेणीलगायतका तीर्थस्थलमा दिवंगत पितृको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने श्रद्धालुको भीड लाग्ने गर्दछ।
सोह्र श्राद्ध समापनसँगै दुर्गा पक्ष अर्थात् बडादसैँको धार्मिक चहलपहल सुरु हुने गर्दछ। यस वर्ष असोज २५ गते घटस्थापनासँगै दुर्गा पक्ष सुरु हुँदैछ।











Discussion about this post