काठमाडौं । नेपाल वायुसेवा निगम उच्च ब्याजदरको ऋण, जहाज विस्तारमा ढिलाइ र प्राविधिक जनशक्तिको अभावका कारण वित्तीय तथा सञ्चालन चुनौतीमा परेको छ।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा प्रस्तुत गरेको विवरणअनुसार ऋणको किस्ता र ब्याज भुक्तानी निगमका लागि ठूलो चुनौती बनेको छ।
शुक्रबार समितिको बैठकमा बोल्दै कालाखेतीले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको ब्याजदर ९.५ देखि १०.५ प्रतिशतसम्म रहेको जानकारी दिए। बजारमा ब्याजदर तुलनात्मक रूपमा कम रहे पनि निगमले उच्च दरमा ऋणको भार व्यहोर्नुपरेको उनको भनाइ छ।
पुरानो बक्यौता चुक्ता नगरेसम्म ऋण पुनर्संरचना गर्न ऋणदाता निकायहरू तयार नहुँदा समस्या थप जटिल बनेको निगमले जनाएको छ। कोभिड–१९ को समयमा समेत उच्च ब्याजदर कायम रहँदा निगमको ऋणभार बढेको कालाखेतीले बताए।
जहाजको संख्या पर्याप्त नहुँदा नेपालको बढ्दो हवाई बजारमा निगमको हिस्सा सीमित रहेको उनको भनाइ छ। बाँकी बजार विदेशी वायुसेवा कम्पनीहरूले ओगट्दा ठूलो परिमाणमा नेपाली रकम बाहिरिने गरेको उनले समितिलाई जानकारी दिए। निगमको फ्लीट विस्तारले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने उनको दाबी छ।
कालाखेतीले निगमको प्रमुख समस्या उच्च ब्याजदर र ठूलो ऋणभार रहेको बताए। उनका अनुसार ऋण पुनर्संरचनाका लागि सरकारले सक्रिय पहल गर्न आवश्यक छ।
यसैबीच, जनशक्ति अभाव पनि निगमका लागि चुनौती बनेको छ। आकर्षक तलब तथा सुविधाको अभावका कारण हालै पाँच जना वाइडबडी क्याप्टेनले राजीनामा दिएको निगमले जनाएको छ।
वाइडबडी जहाजको इन्जिन मर्मतका लागि आह्वान गरिएको टेन्डरमा बैंक ग्यारेन्टीसम्बन्धी प्रावधानका कारण बिडरहरूको सहभागिता न्यून हुँदा मर्मत प्रक्रिया प्रभावित भएको निगमको भनाइ छ।
निगमले वित्तीय समस्या समाधान, जहाज विस्तार र जनशक्ति व्यवस्थापनका लागि सरकारी हस्तक्षेपसँगै संस्थागत तथा कर्पोरेट पुनर्संरचनाको आवश्यकता औंल्याएको छ।










Discussion about this post