काठमाडौं । विश्व व्यापार सङ्गठन (डब्लूटीओ) ले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके सन् २०५० सम्म विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बलियो बहुपक्षीय प्रणालीको तुलनामा १० प्रतिशतसम्म कम हुन सक्ने चेतावनी दिएको छ।
डब्लूटीओले सार्वजनिक गरेको ‘विश्व व्यापार प्रतिवेदन २०२६ : विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड’ मा विश्व व्यापार प्रणालीले गम्भीर चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ। प्रतिवेदनले बहुपक्षीय व्यापार प्रणालीको भविष्यका विभिन्न सम्भावित परिदृश्य प्रस्तुत गरेको छ।
प्रतिवेदनअनुसार बलियो बहुपक्षीय व्यापार प्रणाली कायम रहेमा सन् २०५० सम्म आधारभूत प्रक्षेपणको तुलनामा विश्वको जीडीपी २ दशमलव ९ प्रतिशत र निर्यात १७ दशमलव ९ प्रतिशतले बढ्न सक्छ।
तर बहुपक्षीय व्यापार नियम कमजोर हुँदै भू–राजनीतिक गुटमा आधारित व्यापारिक सहकार्य बढेमा विश्वको जीडीपी ५ दशमलव १ प्रतिशत र निर्यात १८ दशमलव ६ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ।
डब्लूटीओका प्रमुख अर्थशास्त्री रोबर्ट स्टाइगरले बलियो बहुपक्षीय सहकार्य र कमजोर व्यापार प्रणालीबीच विश्वको वास्तविक जीडीपीमा १० प्रतिशतसम्मको अन्तर पर्न सक्ने बताएका छन्।
डब्लूटीओका अनुसार पछिल्ला आठ दशकमा बहुपक्षीय व्यापार प्रणालीले व्यापारिक अवरोध घटाउनुका साथै विश्व व्यापार विस्तार र नियममा आधारित विश्व अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको छ।
डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाका अनुसार विश्वव्यापी वस्तु व्यापारको करिब ७२ प्रतिशत अझै पनि ‘मोस्ट–फेभर्ड–नेसन’ व्यवस्थाअन्तर्गत हुने गरेको छ। सदस्य राष्ट्रहरूले व्यापार प्रणाली सुधारका विषयमा छलफल गरिरहेको उनले बताएकी छन्।










Discussion about this post