कैलाली। कैलालीको भजनी नगरपालिकामा बायो–ईन्जिनीयरिङ्ग प्रविधि तथा लेखा व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपाल को साझेदारी तथा द कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढिकरण (सान) परियोजनाअन्तर्गत भजनी नगरपालिका वडा नम्बर ४, पुरानो झल्झलिया गाउँस्थित कान्द्रा नदीमा जैविक तटबन्धन निर्माण उपभोक्ता समितिलाई उक्त अभिमुखिकरण प्रदान गरिएको हो।

झल्झलिया समुदायमा कान्द्रा नदीले तीव्र रूपमा कटानी गरिरहेको र वर्षायाममा बाढीले बस्तीमा असर पुर्याएउने जोखिम बढ्दै गएकाले जोखिम न्यूनीकरणका लागि जैविक तटबन्ध निर्माण तथा वृक्षारोपण कार्यक्रम अघि बढाइएको छ। यसका लागि भजनी नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा तथा उपभोक्ता समिति बीच चौपक्षीय सम्झौता सम्पन्न भएको छ।

सोही सम्झौताअनुसार कार्यलाई प्रभावकारी, पारदर्शी र दिगो बनाउन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बायो–ईन्जिनीयरिङ्गका प्राविधिक पक्ष, संरचना निर्माणका आधारभूत मापदण्ड, सामुदायिक सहभागिता तथा लेखा व्यवस्थापनका प्रक्रियाबारे विस्तृत अभिमुखिकरण गरिएको सान परियोजनाका कार्यक्रम संयोजक देवराज बडुले जानकारी दिनुभयो।नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का प्रशासन तथा लेखा अधिकृत तिलक राज भट्टले आर्थिक पारदर्शिता, व्यवस्थित अभिलेखीकरण, भुक्तानी प्रक्रिया तथा सार्वजनिक सुनुवाइ जस्ता विषयमा उपभोक्ता समितिका पदाधिकारीहरूलाई विस्तृत अभिमुखिकरण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता अभ्यासले आर्थिक अनुशासन कायम गर्दै परियोजनाको विश्वसनीयता, पारदर्शिता र दिगोपन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

जैविक तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष मोतीलाल विश्वकर्माले समुदाय आफैंले जोखिम न्यूनीकरण कार्यमा प्रत्यक्ष रूपमा अग्रसर हुन पाएकोमा खुशी व्यक्त गर्दै यस तालिमबाट जैविक तटबन्ध निर्माणको प्राविधिक पक्ष, कार्यविधि तथा लेखा व्यवस्थापन सम्बन्धी महत्वपूर्ण सिकाइ प्राप्त भएको बताउनुभयो। उहाँले प्राप्त ज्ञान र सीपले आगामी दिनमा कामलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न सजिलो हुने विश्वास व्यक्त गर्दै योजनालाई निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।
नेपाल रेडक्रस सोसाइटीका प्रकृतिमा आधारित समाधान (एनबीएस) इन्जिनीयर सरोज कुमार श्रेष्ठले जैविक तटबन्धन संरचना वातावरणमैत्री, लागत प्रभावकारी तथा दीर्घकालीन समाधानका रूपमा प्रभावकारी हुने उल्लेख गर्नुभयो। उहाँले यस्ता संरचनाले नदी कटानी नियन्त्रणसँगै वातावरणीय सन्तुलन कायम राख्न सहयोग गर्ने बताउँदै स्थानीय स्रोतसाधन र समुदायको श्रम सहभागिताको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
स्थानीय सरकार, साझेदार संस्था र समुदायको सहकार्यमा झल्झलियामा अघि बढाइएको यस पहलले जैविक प्रविधिको प्रयोग, पारदर्शी व्यवस्थापन र समुदायको सक्रिय सहभागितामार्फत कान्द्रा नदीको कटानी नियन्त्रण गर्दै विपद् जोखिम न्यूनीकरणलाई दिगो विकाससँग जोड्ने विश्वास लिइएको छ।









Discussion about this post