कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर -११ गड्डाचौकीमा स्व. विपिन जोशीको सम्झनामा दीप प्रज्वलन र श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।
मंगलबार पश्चिमी सीमानाका गड्डाचौकीमा आयोजित श्रद्धाञ्जली सभामा स्थानीयवासी, युवाहरू र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। भीमदत्त -११ का वडा अध्यक्ष प्रकाश थापाका अनुसार स्व. जोशीप्रति गहिरो सम्मान प्रकट गर्दै उनको विगतलाई स्मरण गरिएको छ।
दुई वर्षअघि ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका कञ्चनपुरका विपिनलाई इजरायलबाटै हमास समूहले अपहरण गरेको थियो। दुई वर्षसम्म अज्ञात अवस्थामा रहेका विपिन जिवित नरहेको दुई साताअघि पुष्टि भएको थियो भने उनको शव गत सातामात्रै नेपाल ल्याएर गृह नगरमा अन्त्येष्टि गरिएको थियो। यस दुखद घटनाबाट स्तब्ध बनेका युवा, स्थानीयवासी र जनप्रतिनिधिहरूले दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका हुन्।
वडा अध्यक्ष प्रकाश थापाले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको असामयिक निधनले कञ्चनपुरले एक ऊर्जाशील, संघर्षशील र सामाजिक रूपले सक्रिय युवाको अपूरणीय क्षति व्यहोर्नुपरेको बताएका छन्।
श्रद्धाञ्जली सभामा महाकाली नदी किनारमा अन्त्येष्टि भइरहेका स्व. विपिन जोशीको नदी किनारमै फालिएको गितार पनि राखिएको थियो। वडा अध्यक्ष थापाले उक्त गितारलाई ल्याएका थिए र अब त्यसलाई सुरक्षित राखिने बताएका छन्।










Discussion about this post