काठमाडौं : शनिबार बिहानदेखि दार्जिलिङ पहाडी क्षेत्रमा निरन्तर परेको भारी वर्षाले ठूलो क्षति पुर्याएको छ। दार्जिलिङ उप(विभागीय अधिकारी रिचर्ड लेप्चाका अनुसार बाढी पहिरोमा परी अहिलेसम्म २३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अझैं बढ्ने अनुमान गरिएको छ।
भारी वर्षाले मिरिक र दुधिया बीचको फलामको पुलमा क्षति पुर्याएको छ। धेरै क्षेत्रमा घरहरू भत्किएका छन्। जिल्ला प्रशासन स्रोतका अनुसार धेरै दुर्गम ठाउँहरूबाट जनधनको क्षतिको पूर्ण जानकारी अझै प्राप्त भएको छैन।
दार्जिलिङ र सिक्किम देशको बाँकी भागबाट काटिएका छन्। उत्तर बंगालका नदीहरूले धेरै क्षेत्रहरू डुबानमा पारेका छन् जसले गर्दा हजारौं पर्यटक अलपत्र परेका छन्।
मुख्यमन्त्री ममता बनर्जीले पर्यटकहरूलाई धैर्य राख्न अपील गरेकी छिन् । एनडीआरएफ, एसडीआरएफ र राज्य प्रहरीका टोलीहरू राहत र उद्धार कार्यमा जुटेका छन्।
दार्जिलिङ जिल्ला प्रशासनले मिरिकमा नौ जना, सुकियापोखरीमा सातजना र बिजनबारीमा एकजनाको मृत्यु भएको जनाएको छ। साँझ दार्जिलिङ नजिकैको भग्नावशेषबाट एकजनाको शव निकालिएको थियो।
पहिरोका कारण राष्ट्रिय राजमार्ग बन्द समेत भएको छ।मिरिक(दुधिया नजिकै पुल भत्किँदा दार्जिलिङबाट सिलिगुडी जाने वैकल्पिक मार्ग पनि बन्द भएको छ। सिक्किम र कालिम्पोङ बीचको सञ्चार पनि अवरुद्ध भएको छ।
मौसम विभागले अलिपुरद्वार, कुचबिहार र जलपाईगुडीमा भारी वर्षा हुने चेतावनी दिएको छ। पछिल्लो २४ घण्टामा कुचबिहारमा १९०।२ मिमी, जलपाईगुडीमा १७२ मिमी र सिलगुडीमा १३४ मिमी वर्षा रेकर्ड गरिएको छ। अन्नपूर्ण पोष्ट









Discussion about this post