कञ्चनपुर । नेप्लिज टाइम्स डटकमका प्रधानसम्पादक टेकमान शाक्यलाई ज्यान मार्ने धम्की दिइएको घटनाको अनलाइन टिभी पत्रकार सङ्घ नेपालले घोर भर्त्सना गरेको छ।
सङ्घले एक विज्ञप्ति जारी गर्दै धम्की दिनेहरूमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ।
पत्रकार शाक्यले नेकपा एमालेका नेता महेश बस्नेत र उनका समर्थकहरूले धम्की दिएको भन्दै अडियो नै सार्वजनिक गरेका थिए। सो अडियोमा सुरक्षा खतराको अनुभूति हुने अभिव्यक्तिहरू सुनिएको सङ्घले जनाएको छ।
त्यसबाहेक, अन्य दर्जनौं व्यक्तिले फरक-फरक नम्बरबाट फोन गरी ज्यान मार्ने धम्की दिएको जानकारी शाक्यले गराएका छन्।
सञ्चारमाध्यममा प्रकाशित सामग्रीमा चित्त नबुझेमा कानुनी प्रक्रिया अपनाउन सकिने विकल्प हुँदाहुँदै पनि धम्की दिने कार्य स्वीकार्य नहुने सङ्घको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “निर्बाध रूपमा समाचार सङ्कलन तथा सम्प्रेषण गर्न पाउने पत्रकारको नैसर्गिक अधिकारमाथि अवरोध नगर्न र ज्यानको असुरक्षा हुने गतिविधि गर्न नपाइने कुरा संवैधानिक व्यवस्था हो।”
सङ्घले सरकारसँग धम्की दिनेहरूलाई तत्काल कारबाही गर्न र पत्रकार शाक्यको सुरक्षाको व्यवस्था मिलाउन जोडदार माग गरेको छ। साथै, आगामी दिनमा पत्रकारहरूले समाचार सम्प्रेषण गरेकै कारण असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य गर्न पनि माग गरिएको छ।











Discussion about this post