कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका-२ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि त्रिपक्षीय उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ। चालु शैक्षिक सत्र २०८२ को सुरुवातमै विद्यार्थी, अभिभावक र शिक्षकलाई समेटेर आयोजित यो कार्यक्रम जिल्लामै पहिलो भएको विद्यालयले जनाएको छ।
तीन दिनसम्म चलेको कार्यक्रममा प्रख्यात मोटिभेटर तथा कालिका मानव ज्ञान बुटवलका शिक्षक हरिश वलीले प्रशिक्षण दिएका थिए। उनले विद्यार्थी, अभिभावक र शिक्षकको भूमिका र जिम्मेवारीमाथि जोड दिँदै सिकाइ प्रभावकारी बनाउन प्रेरित गरेका थिए।
त्यस्तै कार्यक्रममा साङ्गीतिक प्रार्थना व्यवस्थापनदेखि असल विद्यार्थी, अभिभावक र शिक्षक बनाउने उपायहरूबारे समेत छलफल भएको थियो।
विद्यालयका प्रधानाध्यापक नवराज पन्तले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकको चासो र जिम्मेवारी अपरिहार्य रहेको बताए। “अभिभावकले विद्यार्थी र विद्यालयप्रति चासो नराख्दासम्म सिकाइ प्रभावकारी हुँदैन,” उनले भने, “त्यसैले हामीले अभिभावक, विद्यार्थी र शिक्षकलाई एकसाथ समेटेर उत्प्रेरणात्मक कार्यक्रम गरेका हौँ।” यो कार्यक्रमले तीनै पक्षलाई आ-आफ्नो जिम्मेवारीप्रति सचेत गराउँदै शैक्षिक सुधारमा योगदान पुग्ने उनको विश्वास छ।
कार्यक्रमको समापनमा बोल्दै वेदकोटका नगर प्रमुख भोजराज बोहराले यो कार्यक्रमले विद्यार्थीको पठनपाठनमा रुचि, अभिभावकमा कर्तव्यबोध र शिक्षकमा जिम्मेवारी थपिएको बताए। “यो तीन दिनको सिकाइलाई निरन्तरता दिएर विद्यार्थीको जीवनमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ,” उनले भने।
कार्यक्रममा सहभागी विद्यार्थी महेश रानाले यो फरक अनुभवले आफूलाई नयाँ सिकाइ भएको बताए। “विद्यालय प्रवेशदेखि कक्षाकोठासम्मको वातावरण र सिकाइले हामीलाई थप प्रेरणा मिल्यो,” उनले भने। यस्तै, अभिभावक जानकी कार्कीले यो कार्यक्रमले अभिभावकलाई विद्यार्थीको पढाइप्रति जिम्मेवार बनाएको बताइन्। सहायक प्रधानाध्यापक थिरेन्द्र प्रसाद भट्टले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
वेदकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव पदमराज भट्टले यस्ता कार्यक्रमले अभिभावकमा जागरूकता ल्याउने र शैक्षिक सुधारमा सहयोग पुग्ने बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष नरेश बहादुर सिंहले यो कार्यक्रम सामुदायिक विद्यालय रूपान्तरण अभियानका लागि प्रभावकारी हुने बताए।
२०३३ सालमा स्थापना भएको बैजनाथ माध्यमिक विद्यालय संघीय सरकारबाट नमुना विद्यालयका रूपमा छनोट भएको छ। हाल यहाँ एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले आगामी पाँच वर्षको योजना बनाएर शैक्षिक सुधारलाई निरन्तरता दिने जनाएको छ।










Discussion about this post