काठमाडौं – युएईमा भइरहेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ ।
छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ । दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन र १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भयो ।
कुवेतका लागि कप्तान तथा ओपनर जिफा जिलानीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए । कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २–२ विकेट लिए । सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् ।
रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् । यस्तै कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १–१ विकेट लिए । मनिषाले पनि २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् । त्यसअघि नेपालका लागि पुजा महतोले कप्तानी इनिङ्स इनिङ्स खेल्दै ३४ रन बनाइन् । लगातार दोस्रो खेलमा नेपालका लागि उच्च रन बनाउने क्रममा महतोले ३८ बल खेल्दा ४ चौका मद्दतमा ३४ रन बनाइन् । यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् ।
ज्योत्सनिका मरासिनीले पनि १८ बल खेल्दै २३ रन योगदान गरिन् । एलिसाकुमारी यादवले १५ रन जोडिन् । कुवेतकी आयशा इकवाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए । नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।