आईसीसी विश्वकप क्रिकेट लिग–२ को अमेरिकामा भइरहेको शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको छ ।
अमेरिकाको डालसमा स्कटल्याण्डले दिएको १ सय ५५ रनको लक्ष्य नेपालले २९ ओभर ५ बलमा भेट्टायो । नेपालका आरिफ शेखले सर्वाधिक ५१ रन बनाए । कुशल भुर्तेल र गुल्सन झाले २५/२५ रन जोडे । आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका ब्राण्डम म्याकुलमले २ विकेट लिए ।
त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । स्कटल्याण्डका मार्क वाटले ३४ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, सोमपाल कामी र गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले १ विकेट लिए । लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमा अमेरिकालाई १० विकेटले हराएको थियो ।
तालिकाको सातौँ स्थानमा रहेको नेपालको १० खेलमा ५ अङ्क भएको छ । स्कटल्याण्ड ९ खेलमा ११ अङ्कका साथ चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको क्यानडाको १२ खेलमा १६ अङ्क छ ।