कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -०१ हात्तीथलामा सातौँ आदर्श क्रिकेट कप सुरु भएको छ। मङ्गलबार प्रतियोगिताको उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो भने आदर्श युवा क्लबका कार्यवाहक वडा अध्यक्ष राम बहादुर बोहराको सभापतित्व रहेको थियो।

आदर्श युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा वेदकोट नगरपालिका भित्रका १३ टिमको सहभागिता रहेको आदर्श युवा क्लबका सचिव तेजेन्द्र धामीले बताएका छन्। प्रतियोगिताको प्रथम पुरस्कार रू १ लाख १ सय नगद सहित ट्रफी र प्रमाण पत्र रहेको छ भने दोस्रो पुरस्कार ५० हजार ५० नगद सहित ट्रफी र प्रमाण पत्र रहेको क्लबका सचिव धामीले जानकारी दिएका छन्।

कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले जुन खालको हिम्मत, साहस र अठोट लिएर आदर्श युवा क्लबले यो प्रतियोगिता सुरु गरेको छ यो प्रतियोगिता उदाहरणीय हुने बताउनुभयो। साथै उहाँले यो प्रतियोगिता पश्चात वेदकोट नगरको राम्रो टिम तयार हुनेमा समेत आफू विश्वस्त रहेको बताउनुभयो।

कार्यक्रममा जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष बिरेन्द्र चन्द, वेदकोट नगरपालिका वडा नम्बर -०१ का वडा अध्यक्ष रमेश सिह भण्डारी, वेदकोट नगरपालिका -०४ का वडा अध्यक्ष नरेन्द्र बहादुर बोहराको विशिष्ट आतिथ्य रहेको थियो।

प्रतियोगिताका सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।








Discussion about this post