सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दशैंको उल्लासमा वैदेशिक रोजगार: आर्थिक समृद्धि तर सामाजिक दूरी

प्रकाश बहादुर चन्द, बैतडी – बडा दशैं नेपालको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड हो। यो हिन्दु परम्पराको एक महत्त्वपूर्ण अङ्ग भएको र नेपाली समाजमा विशेष स्थान राख्ने चाड हो। दशैंलाई विशेष गरेर दुर्गा माताको उपासना, असत्यमाथि सत्यको विजय, र सकारात्मक ऊर्जा प्राप्तिको पर्व मानिन्छ।

यो पर्वलाई नेपाली जनजीवनमा विशेष गरी सांस्कृतिक, धार्मिक, र पारिवारिक मूल्यहरूको अभिवृद्धि गर्ने अवसरको रूपमा लिइन्छ। नेपालमा दशैंको विशेष सांस्कृतिक महत्व छ। यो पर्वले नेपालका विभिन्न जातजाति र धर्मका मानिसहरूलाई एकत्रित गर्ने शक्ति राख्छ। दशैंको समयमा टाढा रहेका परिवारका सदस्यहरू आफ्नो गाउँघर फर्केर एकसाथ हुन्छन्, जसले पारिवारिक बन्धनलाई अझ बलियो बनाउँछ। आशीर्वादको रूपमा टिका र जमरा लगाउने चलनले परिवारको अनुशासन, सम्मान र प्रेमको सम्बन्ध झल्काउँछ।

दशैं धार्मिक दृष्टिकोणले महिषासुरमाथि दुर्गा माताको विजयको उत्सव हो। यो पर्वको पहिलो दिन घटस्थापना हुन्छ, जहाँ घरघरमा दुर्गा माताको स्थापना गरी नवदुर्गाको पूजा आरम्भ गरिन्छ। दशौं दिन विजयादशमीको रूपमा मनाइन्छ, जुन असत्यमाथि सत्यको विजयको प्रतीक हो। विभिन्न शक्तिपीठहरूमा पूजाआजा गरिन्छ र शक्तिका स्रोतका रूपमा दुर्गा मातालाई मानिन्छ। नेपालको गाउँघरमा दशैं विशेष उल्लासपूर्ण रूपमा मनाइन्छ। दशैंले गाउँका मानिसहरूको जीवनमा नयाँ उमङ्ग ल्याउँछ।

कृषकहरू आफ्नो फसल भित्र्याएर चाडपर्व मनाउन तयारी गर्छन्। टाढा रहेका छोराछोरी, आफन्त गाउँ फर्कने र पुराना सम्झनाहरू पुनर्जीवित गर्ने मौका पाइन्छ। दशैंको मेलाहरू, जात्रा, र सांस्कृतिक कार्यक्रमहरूले गाउँको वातावरणलाई झनै रमाइलो बनाउँछन्। दशैंको चहलपहलका साथै यसको आर्थिक पक्ष पनि महत्वपूर्ण छ। परम्परागत रूपमा दशैंको समयमा नयाँ कपडा किन्ने, मिठो मसिनो खाने, र भोजभतेरको आयोजना गर्ने प्रचलनले परिवारमा आर्थिक भार थप्ने गर्छ। बजारहरूमा विशेष चहलपहल हुन्छ, र गाउँघरमा समेत दशैंको खर्च बढेको देखिन्छ।

Mahakali Polytechnic

तर, पछिल्ला वर्षहरूमा विदेशिने युवाहरूको सङ्ख्या अत्यधिक बढेसँगै गाउँघरमा दशैंको रौनकमा केही कमी आएको छ। नेपालमा पछिल्ला दशकहरूमा रोजगारको खोजीमा ठूलो मात्रामा युवा विदेश जाने प्रचलन छ। गाउँका धेरै युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुकहरू, मलेसिया, दक्षिण कोरिया, र अन्य देशहरूमा जाने गरेका छन्। उनीहरूको अनुपस्थितिले गर्दा गाउँघरमा दशैंको उल्लास केही खस्केको छ। परिवारका प्रमुख सदस्य विदेश हुँदा दशैंको पारिवारिक पुनर्मिलनको भावना कमजोर भएको छ। गाउँहरूमा दशैं मनाउने परम्परागत जोशजाँगरको कमी देखिन्छ।

World Link Ads

देशमा बेरोजगारीको समस्याले गर्दा गाउँघरहरू प्रायः युवा बिहीन बनेका छन्। काम गर्ने उमेर समूहका मानिसहरू विदेशमा रहँदा, गाउँमा केवल बालबालिका र वृद्धवृद्धा मात्र बाँकी हुन्छन्। यसले दशैंको समयमा गाउँघरको गतिविधि शून्यप्रायः बनाएको छ। रोजगारको खोजीले गर्दा दशैंजस्तो विशेष पर्वमा पनि धेरै परिवारहरू छुट्टिएका छन्, जसले पर्वको सांस्कृतिक र पारिवारिक महत्वमा कमी आएको छ। पहिले झैं घरमा भेला भएर सामूहिक भोजभतेर गर्ने चलन पनि कम हुँदै गएको छ। कसैलाई दशैं खासै दशैं जस्तो नलाग्न थाल्नुको मुख्य कारण आर्थिक भार, विदेशमा भएका आफन्तसँगको दूरी, र बेरोजगारीले सिर्जना गरेको मानसिक दबाब हो।

Sana Kishan

विदेशमा भएका आफन्तलाई सम्झेर गाउँका बुढापाकाहरूले दशैंको रौनक महसुस गर्न नसक्ने अवस्था छ। साथै, गाउँका युवाहरूले विदेशमा कठिन परिश्रम गरेर पठाएको पैसाले दशैं मनाउने भए पनि उनीहरूकै अनुपस्थिति भने दशैंलाई अधुरो बनाउँछ। गाउँघरमा दशैंको उल्लास पुनः कायम राख्न र यसको पारिवारिक र सांस्कृतिक महत्वलाई जोगाउन आवश्यक छ कि विदेशिएका युवाहरूले सकेसम्म चाडपर्वमा घर फर्कने, परम्परागत मूल्य र मान्यताहरूलाई संरक्षण गर्ने, र दशैंको आर्थिक भारलाई घटाएर साधारण तरिकाले मनाउने बानी बसाल्नुपर्छ। साथै, सरकारले गाउँमा रोजगारीका अवसरहरू सिर्जना गरी विदेशमा जाने लहरलाई केही हदसम्म रोक्न सके दशैंको वास्तविक रौनक पुनः फर्कन सक्छ।

बडा दशैं नेपालका लागि मात्र होइन, नेपाली संस्कार र सभ्यताका लागि पनि महत्त्वपूर्ण चाड हो। यसले सामाजिक, सांस्कृतिक, र धार्मिक रूपमा जनजीवनलाई प्रभावित गर्छ। खासगरी गाउँघरमा दशैंको उल्लास अझै मौलिक रूपमा देखिन्छ। यस चाडले गाउँहरूमा खुशी, मेलमिलाप, र आपसी समझदारीको भावना ल्याउँछ।गाउँघरमा बडादशैं परम्परागत रूपमा परिवार र समुदायको एकतामा आधारित पर्व हो, जसले सामाजिक सञ्जाल र सामूहिकता बलियो बनाउँछ। तर वैदेशिक रोजगारको कारण धेरै युवा विदेश गएपछि गाउँघरहरूमा सामाजिक रिक्तता देखिन थालेको छ।

दशैंको समयमा परिवारका सदस्यहरू टाढा हुँदा चाडपर्वको रौनक घटेको छ, जसले गर्दा दशैं मनाउने परम्परा धेरै परिवारका लागि अधुरो बनेको छ। विदेशबाट पठाइएका पैसाले आर्थिक रूपमा केही राहत भए पनि, त्यो आत्मीयता र सामूहिकताको स्थान पूर्ति गर्न नसकिरहेको स्थिति छ। गाउँघरमा पहिलेको दशैंको उल्लास घट्दै जानु वैदेशिक रोजगारको दीर्घकालीन सामाजिक प्रभाव हो, जसले पारिवारिक बन्धनमा पनि असर पुर्याएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds