कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकामा दोस्रो मेयर कप सुरु भएको छ। बिहीबार दोस्रो संस्करणको मेयर कप नगर स्तरीय पुरुष फुटबल प्रतियोगिताको उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो भने वेदकोट नगर खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टको सभापतित्व रहेको थियो।

वेदकोट नगर खेलकुद समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको प्रथम पुरस्कार रू ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने द्वितीय पुरस्कार रू २५ हजार नगर सहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा वेदकोटका ८ वडाका ९ टिम सहभागि भएका छन्।

नगरभित्रका फुटबल खेलाडीहरूको पहिचान गरी नगरस्तरीय टिम तयार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको वेदकोट नगर खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टले बताएका छन्। प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक सहित विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने उनले जानकारी दिएका छन्।

त्यसैगरी आयोजक समितिका सदस्य राकेश बहादुर चन्दले खेलकुदका कारण खेलाडीको स्वास्थ्यमा सकारात्मक परिवर्तन मात्रै नभएर यसबाट नगर, जिल्ला र राष्ट्रले गौरव गर्न सक्ने खेलाडी उत्पादन हुने बताएका छन्।

कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले वेदकोट नगरपालिका भित्र लुकेर रहेका फुटबल खेलाडी पहिचान गरी नगरको टिम निर्माण गर्न यो प्रतियोगिताले सहयोग गर्ने बताएका छन्। साथै नगर र राष्ट्रका लागि योगदान पुर्याउन सक्ने युवालाई अगाडि ल्याउन प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख बोहराले बताए। उनले भने ‘वेदकोट नगरपालिका भित्र लुकेर रहेका फुटबल खेलाडी पहिचान गरी उनिहरूलाई अगाडि ल्याउन यो प्रतियोगिताले सहयोग गर्नेछ। साथै नगर र राष्ट्रका लागि योगदान पुर्याउन सक्ने युवाको निर्माण यो प्रतियोगिताले गर्नेछ।‘ नगर प्रमुख बोहराले वेदकोट नगर खेलकुद विकाश समितिलाई नगरभित्र प्रतियोगिताहरू आयोजना गर्न यो वर्ष ५ लाख रकम प्रदान गरिएको जानकारी दिएका छन्।

आयोजक समितिका सदस्य राकेश बहादुर चन्दले सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, ओलम्पियन डम्बर दत्त भट्ट लगायतको विशिष्ट आतिथ्य रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि लगायत शिक्षा प्रेमीहरूको भव्य उपस्थिति रहेको थियो ।

त्यसैगरी आज भएको उद्घाटन खेलमा वेदकोट नगरपालिका -०९ ले वेदकोट नगरपालिका १० लाई २-० ले हराएको छ। भोलि बिहान ८ बजेदेखि खेलहरू सञ्चालन हुने आयोजकले जनाएको छ।









Discussion about this post