कञ्चनपुर – हिन्दुहरूको महान चाड विजया दशमी २०८१ को अवसरमा भीमदत्त नगरपालिका वडा नम्बर १३ स्थित श्री निवास रामानुज घाट तथा महाकाली मन्दिरमा घटस्थापना देखि सप्तमिसम्म दुर्गा सप्तमी महायज्ञ लाग्ने भएको छ ।
मन्दिर समितिको आयोजनामा विजया दशमीको पहिलो दिन घटस्थापनाको शुभ अवसरमा महायज्ञ महायज्ञ शुभारम्भ गरिने छ । महाकाली नदीमा गङ्गा स्थान गरि सो मन्दिरमा पुजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ ।
मन्दिर समिति अध्यक्ष श्याम बहादुर थापाले धार्मिक मूल्य मान्यताको जगेर्नाका साथै श्री निवास रामानुज घाटलाई धार्मिक पर्यटन प्रवर्द्धनसँग जोड्न महायज्ञको आयोजना गरिएको बताए । त्यसैगरी युवा समाजसेवी महेश भट्टले पछिल्लो समय युवा विद्यार्थीहरू लागूऔषधजस्ता दुर्व्यसनको भयावह स्थिति रोक्न र समाजमा आपराधिक गतिविधि न्यूनीकरण गर्दै आदर्श समाज निर्माण गर्न महायज्ञ जस्तो पवित्र कार्यमा जोड दिनुपर्ने बताए।
महायज्ञ आर्थिक समिति संयोजक महिला नेतृ कान्ति सिंहले डिपिआर अनुसार आगामी दिनमा निर्माण कार्य सम्पन्न गर्न विभिन्न तहका सरकार र दाता महानुभावहरूको सहयोग रहनेमा विश्वस्त रहेको बताइन्। भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष राम बहादुर बोहराले विगतदेखि नै श्री निवास रामानुज घाटलाई धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्न विभिन्न कार्यक्रमहरू गर्दै आईरहेका छन्।
एसियाकै दोस्रो लामो झोलुङ्गेपुल सँग जोडिएको सो क्षेत्रलाई धार्मिक तीर्थस्थल का रूपमा समेत अगाडि बढाउन गुरुयोजना (डिपिआर) तयार गरि माथिल्लो तहका सरकार समक्ष पेस गरिएको वडा अध्यक्ष बोहराले जानकारी दिएका छन्। महायज्ञ अवधिभर सप्तमी पाठ, भजन कृतन, कथा वाचन र गङ्गा आरति लगायतका कार्यक्रम रहने आयोजकले जनाएको छ।